राजनीति

सभामुख–एमाले विवादले संसद् थप मुडभेडमा : सापकोटा नै सभामुख रहे सदन चल्नै नदिने एमाले दाबी (भिडियोसहित)

संसद् अवरुद्धले निम्त्यायो ठुलो संकट


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सभामुख अग्निप्रसाद सापकोटाको विवादको मारमा प्रतिनिधिसभा परेको छ । एमाले विभाजनको मतियार सभामुख सापकोटा नै भएको भन्दै एमाले सांसदहरु अझै खरो रुपमा उत्रिने भएपछि भोलि बस्ने बैठकसमेत प्रभावित हुने भएको छ ।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नकै लागि सरकारले गत साउन ३२ गते हतास संसद् अधिवेशन अन्त्य गरेको थियो ।त्यहीँ अघिवेशन बुधबार अपरान्ह ४ बजे बस्ने भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विहान ९ बजे नै संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदहरुलाई पूर्ण तयार पारेको थियो । त्यो तयारी भनेको संसद् अवरुद्ध गर्ने र सभामुखविरुद्ध एक भएर सदन छिर्ने थियो । त्यसका लागि एमाले अध्यक्ष ओलीले एमाले विरोधी सभामुख अग्नि सापकोटाविरुद्ध खरो भएर उत्रिन आफ्ना सांसदलाई प्रशिक्षित पारेका थिए ।

प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गत पहिलो बैठकको घण्टी निर्धारित समय ४ बजे नै बज्यो । सभामुख सापकोटा एमालेविरोधी गतिविधिमा सक्रिय रहेको भन्दै उनलाई सभामुख मानेर सदन चल्न नदिने ओलीको निर्देशनपछि संसद् छिरेका एमाले सांसदहरुले सभामुख मुर्दावादको नाराबाजी मात्रै गरेनन्, दिनभरी नै सदन ठप्प बनाए ।

एमाले सांसद गंगा चौधरी त बुर्कुशी मार्दै रोस्टममै चढ्न खोजेर मर्यादापालकलाई एकछिन हम्मेहम्मे पारिन । एमालेबाट विभाजित माधवकुमार नेपालसहितका १४ सांसद अनधिकृत भएको र उनीहरू सहभागी संसद् बैठकमा आफूहरू नबस्ने एमालेको अडान छ । सभामुखले पेलेरै जान खोजे संसद् नै अवरुद्ध पार्ने तयारीका साथ एमाले नेताहरु अघि बढेका छन् ।

जसमा माधवकुमार नेपालको साथ छोडेको नेताहरुको पनि साथ छ । बुधबारको संसद् बैठकमा एमालेको नाराबाजी चल्दा माधवलाई छोडेर एमालेमै रहेका नेताहरुले न टेबुल ठोके, न नाराबाजी गरे, तर आफ्नो सीटबाट उठेर वेलसम्म पुगेर साथ दिए ।तथापी सभामुख निष्पक्ष नभएको र एमाले विभाजन प्रक्रियामासभामुख सापकोटाले सघाएकोे आरोप उनीहरुले लगाए ।

एमाले सांसदहरूले आफूविरुद्ध नै नाराबाजी गरेपछि सापकोटाले सभामुखको आचरणविरुद्ध अभिव्यक्ति दिन नहुने प्रतिनिधिसभा नियमावलीस्मरण गराएका थिए । माधवकुमार नेपालसहितका १४ सांसद मान्य नहुने भन्दै एमाले नरोकिएपछि २ पटक १५ मिनेटका लागि बैठक नै स्थगित भएको थियो । यता कारबाही गर्न माग गरिएका १४ सांसद मध्यकि एक रामकुमारी झाँक्रीले एमालेले आफ्नो असली चरित्र र औकात देखाएको प्रतिक्रिया दिएकी छिन् ।

१४ सांसदलाई सभामुख र निर्वाचन आयोगले कारबाही नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका छन् ।एकातिर मुद्दा अदालतमा दिएको अवस्था छ, अर्कोतिर सोही विषयमा संसद् अवरुद्ध गर्ने कदम कानुनसम्मत छ कि छैन भनेर एमालेले सोच्नसम्म भ्याएको छैन । प्रमुख प्रतिपक्षको निरन्तरको अवरोधले संसद् चलाउनै सभामुख र सत्तापक्षलाई चुनौति थपिएको छ । शुक्रबारका लागि बोलाईएको बैठक पनि एमालेले चल्न नदिने तयारी गरेको छ ।

सरकारले एमसीसी सम्झौतालाई ध्यानमा राखेर संसद् अधिवेशन आह्वान गरेको हो । एमसीसी संसद्मा कसरी अघि बढ्छ सबैको चासोमा छ । अवरोधकैबीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । तर पहिलो दिन नै प्रमुख प्रतिपक्षले विरोध गरेपछि अघिल्लो अधिवेशनमा पेस भएका बजेटसहितका १५ अध्यादेशको भविष्य अनिश्चित बनेको छ  ।