देश

प्रधानसेनापति शर्माले लिए शपथ


काठमाडौँ – नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा शर्माको पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो ।

झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने अवसर प्राप्त गर्नुभएको शर्मालाई राष्ट्रपति भण्डारीले प्रधानसेनापति पदको दर्ज्यानी चिह्नसमेत प्रदान गर्नुभयो । “सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रधानसेनापति महारथी श्री प्रभुराम शर्माज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहनुहुने छ । शर्माका सामु प्रशस्त चुनौती रहेको जानकारहरु बताउँछन् । शर्माले पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाउनुभएको छ ।