राजनीति

निधिको देउवालाई पत्र : समावेशी प्रतिनिधित्व पुनस्थापित गरौं


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले १४औं महाधिवेशनेका प्रक्रियामा कांग्रेसमा समावेशी प्रतिनिधित्त्व पुनस्थापित गर्न र यसलाई वडामा सीमित नगर्न कांग्रेस सभापतिसहित नेताहरुको ध्यानाकर्षण गरेका छन् ।

उपसभापति निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादूर देउवालाई पत्र लेख्दै निर्वाचन निर्देशिका बनाउने र त्यसको कार्यान्वयन गर्ने क्रममा विधानका केही त्रुटी र विरोधाभाषपूर्ण प्रावधानहरु उजागर भएर आएको बताएका छन् ।उनले भनेका छन्, “संघीय संसद् निर्वाचन क्षेत्रबाट निर्वाचित हने महाधिवेशन प्रतिनिधिहरुमा सबै आरक्षित समूहको प्रतिनिधित्व हुने प्रत्याभूत व्यवस्थामा कटौती हुन गएको छ । अर्थात् समावेशी सम्बन्धि अहिलेको प्रावधानले गर्दा आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुसलमान, थारु, पिछडा क्षेत्र, अल्पसंख्यक, अपांगता भएका, श्रमिक, तेस्रो लिंगी आदि समावेशी समूहहरु तल्लो तहसम्म मात्र आउन सक्ने तर, महाधिवेशन प्रतिनिधिको तहमा आउन नसक्ने गरी निषेधात्मक प्रावधान हुन आएको छ,”

निधिले महाधिवेशन प्रतिनिधिमा सबै समावेशी/आरक्षित समूहबाट अनिवार्य प्रतिनिधित्त्व हुने प्रावधान पुनः व्यवस्थित गर्न विधान, नियमावली, निर्देशिकाका जुन–जुन प्रावधानहरु आवश्यक भए पनि निलम्बन गरी बाधा–अडकाउ फुकाउन नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्