देश

कसरी हुदैछ कोभिड-१९ ले रोकिएको जनगणना ? लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने विषय अन्यौलमै


काठमाडौँ – कोरोना भाइरसका कारण रोकिएको राष्ट्रिय जनगणना सरकारले कात्तिक २५ गतेदेखि सुरु गर्ने भएको छ । विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ । यसअघि स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै फेरि सुरु हुने भएको हो ।

कोरोना महामारी कारण स्थगित भएको राष्ट्रिय जनगणना पुनः सुरु हुने भएको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्मका लागि तोकिएको जनगणना कोरोना महामारीका कारण प्रभावित हुन पुगेको थियो । स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो तालिका मन्त्रिपरिषद् बैठकले पुनः जनगणना गर्न स्वीकृत दिएकोे हुँदा अब निरन्तरता दिन लागिएको हो ।

तालिकाअनुसार जनगणनामाा खटाइने ८ हजार ५ सय सुपरिवेक्षकलाई यही भदौ २६ गतेभित्र नियुक्त गरी तत्कालै दुई दिने तालिम दिइने छ । उनीहरूलाई भदौ ३० गतेबाट असोज १८ गतेभित्र घर परिवार सूचिकरण गर्न खटाइने छ । काठमाडौं जिल्लाभित्र ट्याबलेट प्रयोग गरिनेछ भने अन्य जिल्लामा लिखित प्रश्नावली प्रयोग गरिने विभागले जनाएको छ । राष्ट्रिय जनगणनामा करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विभागले गरेको महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकले अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ । सरकारले सातवटै प्रदेशबाट कुल ७५३ स्थानीय तहमध्ये ३४९ स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिसकेको छ भने ८० वटा जिल्ला जनगणना कार्यालय स्थापना गरेको छ । जनगणना गर्दा भाषा धर्मको गणना कसरी हुन्छ भन्ने जनमासमा चासोको विषय बनेको छ । यस विषयमा केन्द्रिय तथ्याङक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यस्तो प्रतिक्रिया दिए ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सुपरिवेक्षक, गणक र कर्मचारी सबैलाई कार्यथलोमा खटाउनुअघि कोभिड विरुद्धको खोप दिइने बताए ।

नेपालमा हरेक १० वर्ष अवधिमा राष्ट्रिय जनगणना हुने गरेको छ । पहिलो पटक वि.स १९६८ सालमा भएको थियो जुन बेला चन्द्रशमशेर प्रधानमन्त्री थिए । त्यस पश्चात करिव १० –१० वर्षको अन्तरालमा निरन्तर नेपालमा जनगणना हुदै आएको छ । तर जनगणना २०७८ मा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराका नागरिक समट्ने वा नसमेट्ने भन्ने विषयको अन्यौल अझै कायम छ ।