राजनीति

एमसीसीको आतंकले गठबन्धन फुट्दै : ओलीको चालले प्रचण्ड संकटमा, सरकार ढल्नेसम्मको संकेत


काठमाडौँ – अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास हुने कि नहुने बहस भइरहेका बेला सत्ताधारी गठबन्धन नै फुट्नेसम्मको विश्लेषण गरिएको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धन नै विभाजित बनेपछि फरक समीकरणसम्मको चर्चा शुरु भएको छ ।

सार्वजनिक चिया चौतारोदेखि सञ्चारमाध्यमसम्म बहस चलिरहँदा देश यतिबेला एमसीसीमय भएको छ । एमसीसीलाई लिएर राजनीतिक दल विभाजित भइरहेका छन् भने देशलाई नै पक्ष विपक्ष बनाएर विभाजित गर्ने तयारीमा छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट गलहत्याउन एक भएका दलहरु समेत एमसीसीको नाममा विभाजित बन्ने संघारमा छन् । सरकार फेरबदल र भागबण्डासम्मको तयारीमा एकभई आएका दलहरुलाई एमसीसीले फुटाउने त्रास बढ्दै गएपछि आत्तिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त बुधबार एमसीसीलाई हतियार बनाएर गठबन्धन फुटाउने षड्यन्त्र भएको आरोप नै लगाएका छन् ।

गत असार २८ मा सर्वाेच्चको परमादेशबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्यूत भएका थिए ।त्यसकै भोलीपल्ट असार २९ मासत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको सपथ खाएका काँग्रेस सभापति शेरबहादुर देउवाले दुई महिना पुग्न थाल्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिएका छैनन् ।

पहिले जसपा विवाद, त्यसपछि एमालेको माधवकुमार नेपाल पक्ष र एमाले विभाजनपछि नेपालको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी)लाई सरकारमा सामेल गराउनकै लागि सत्ता गठबन्धन उल्झिएको दाबी गरिएको थियो । त्यसलगत्तै माधवकुमार नेपालकै सुविधालाई ध्यानमा राखेर भदौ २२ मा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको सत्ता गठबन्धनले कुनै छलफलसमेत अघि बढाएको छैन ।

बरु एमसीसी पास गर्ने विषयलाई लिएर प्रधानमन्त्री देउवा र अन्य घटकबीच मतभेद चुलिदै गएको छ ।देउवा जसरी पनि हुबहु एमसीसी पास गर्ने तयारीमा छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यथास्थितिमासंसद्बाट पास नहुने घोषणा गरेका छन् । अब एमसीसीको कचिङगल सत्ता गठबन्धनमा समेत छिरेपछि सरकार र गठबन्धनको आयु मापन गर्न थालिएको छ ।यता काँग्रेसकै नेताहरुले एमसीसी मुलुकले थेग्न नसक्ने भन्दै देउवालाई दरिलो साथ दिएका छैनन् ।

गठबन्धनभित्रकै जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विरोधमा छन् । देउवालाई सघाउँदै आएका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए । अहिले एमसीसीको विरोध गर्न सडक संघर्ष कै घोषणा गरेका छन् । भर्खरै मात्रै एमालेबाट विभाजित बनेको माधवकुमार नेपालको साथ पाउनेमा देउवा ढुक्क देखिन्छन् । तरयो पक्षले समेत यसअघि एमसीसीको विरोध गर्दै आएकालेनयाँ पार्टी बनाएपछि पनि संसोधन नगरी पास नगर्ने अडान लिएको छ ।यसैकारण एमसीसी सत्तागठबन्धनका लागि घाँडो साबित बन्दै गएको छ ।

एमसीसी सम्झौताका केही प्रावधान परिमार्जन नगरी सरकारले स्वीकार गर्दैन भन्ने मत काँग्रेसबाहकका दलहरुको छ । तर, अमेरिकाले यसअघि नै सम्झौता परिमार्जन हुन नसक्ने स्पष्ट पारिसकेको छ । यसकारण सत्ता गठबन्धनको आपसी सहमति बिना प्रधानमन्त्री देउवा अघि बढ्न नसक्ने दाबी अन्य दलहरुले गर्दै आएका छन् ।देउवा भने सहमतिबाटै संसद्बाट एमसीसी पास गर्न लागिपरेका छन् ।

गठबन्धनका पाँच दल नै एमसीसीलाई लिएर पाँचतिर उभिएपछि त्यसको प्रतिफल नै गठबन्धन विभाजन हुने देखिन्छ । यसअघि पास गर्नुपर्ने मत राख्दै आएको प्रमुख प्रतिपक्ष दल एमाले पनि एमसीसी राष्ट्रहितमा नभएको भन्दै बोली फेरेको छ ।एमसीसीलाई लिएर एक्लीदै गएका देउवा र एमसीसीकै हतियार उठाएर गठबन्धनमा खेल्न थालेको एमालेको कारण गठबन्धन फुट्ने मात्रै नभइ फरक समीकरणको सम्भावनालाई पनि आँक्न थालिएको छ ।