राजनीति

देउवाकै जिल्लामा गरियो काँग्रेसको किरिया : जता ठुला नेता उतै धेरै विवाद (भिडियोसहित)

सभापति बन्न खोज्ने, विवाद मिलाउन नजान्ने ?


काठमाडौँ – देशभर वडा अधिवेशन चलिरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहितका २१ जिल्लामा वडा अधिवेशन अनिश्चित बनेको छ । क्रियाशिल सदस्यताको विवाद समाधान हुन नसक्दा शीर्ष नेताहरुकै जिल्लामा यस्तो हविगत देखिएको हो ।

क्रियाशील सदस्यताको सूचीबाट आफ्नो नाम हटाएको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका–९ का वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरेर पार्टीविरुद्ध किरिया बसेका छन् । यसले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाकै जिल्लामा क्रियाशिल सदस्यता नविकरण र वितरणमा ब्यापक धाँधली भएको देखाउँछ ।यहाँ विवादकै कारण भदौ २५ लाई तोकिएको वडा अधिवेशन नै अन्योलमा परेको छ ।देउवाको गृहजिल्ला मात्रै होइन, सभापतिका अधिकांश आकांक्षीहरूको गृह जिल्लामै वडा अधिवेशन अनिश्चित बनेका छन् ।

विवाद समाधानका लागि कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनेको समितिले २१ जिल्लाका क्रियाशील सदस्यको विवादमा सैद्धान्तिक सहमति भएको भन्दै पन्छिएपछि यी जिल्लामा वडा अधिवेशन नै अनिश्चित बनेको हो ।

आसन्न महाधिवेशनबाट पार्टी सभापतिको आकांक्षा देखाएका नेताहरुकै गृह जिल्लामा अधिवेशन अनिश्चित छ । सभापतिका दाबेदारी गरिरहेका शेखर कोइराला र सुजाता कोइरालाको गृहजिल्ला मोरङमै क्रियाशील सदस्यको सूची सार्वजनिक भएको छैन ।

प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको सूची पनि सार्वजनिक भएको छैन । धनुषा सभापतिको उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिको गृह जिल्ला हो । धनुषासहित प्रदेश २ का यी जिल्लाहरुमा वडा अधिवेशन कहिले हुन्छ अनिश्चित छ । अरुत अरु, देशको मुटु मानिएको राजधानी काठमाडौंमा समेत क्रियाशिल विवादले निकास पाएको छैन । सभापतिको दाबी गरिरहेका नेता प्रकाशमान सिंहको गृहजिल्ला काठमाडौँमा विवाद समाधान गर्न नसक्दा वडा अधिवेशन कहिले टुङगीन्छ अत्तापत्तो छैन । बरु नेतृत्वकै लागि नेताहरु मरिहत्ते गरिरहेका छन् ।
कपिलवस्तु, बाँके र बर्दियातथा कर्णालीको डोल्पा र सुर्खेतलगायतका जिल्लमा समेत वडा अधिवेशन अनिश्चित छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला समेत रहेको कर्णालीको राजधानी सुर्खेतको पनि सदस्यता सूची सार्वजनिक भएको छैन ।सुदूरपश्चिमका कैलाली, बाजुरा र डडेलधुराको क्रियाशील सूची नआउँदा वडा अधिवेशन अनिश्चित छ ।

देशभर वडा अधिवेशनले सरगर्मी चढाएका बेला महाधिवेशनका लागि नेता कार्यकर्ता उत्साहित बनेका छन् । यसैलाई ध्यानमा राख्दै काँग्रेसले ‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४औँ महाधिवेशन’ भन्ने नारासमेत सार्वजनिक गरेको छ । तर विडम्बना शिर्ष नेताहरुकै जिल्लामा आफ्नो पल्लाभारी बनाउन नेताहरु लागिपर्दा वडा अधिवेशन नै अनिश्चित बनेका हुन् ।