राजनीति

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्ने आज अन्तिम दिन


काडमाडौँ –निर्वाचन आयोगले दल विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्न दिएको समय आज सकिँदै छ ।

एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न आजसम्मको समय दिएको हो ।

निर्वाचन आयोगले गत भदौ ९ गते एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।
त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्ने क्रम जारी रहेको निर्वाचन कार्यालयहरूले जनाएका छन् । प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ ।

सुदूरपश्चिम प्रदेशमा त एकीकृत समाजवादी संसद्कै सबभन्दा ठूलो दल बनेको छ । यसैबीच, निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्न सक्ने अनुमान गरेको छ ।