राजनीति

राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत, कहिले हुन्छ मूल जनगणना ?



काठमाडौँ – सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ । यसअघि छनोट गरिएका ८ हजार सुपरिवेक्षकलाई पुनःनियुक्ति गर्ने र लगत्तै भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइनेछ । तालिमपछि सुपरिवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचिकरणमा खटाइनेछ ।

असोजभित्र ३९ हजार गणक छनोट गरी कात्तिक १३ गतेबाट चारदिने तालिम दिइनेछ । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । जनगणना कार्यको पहिलो चरणमा प्रत्येक घरमा एकजना सुपरिवेक्षक खटिने र घरमुलीलाई भेटेर उनीहरुले विवरण लिनेछन् । त्यसैगरी दोस्रो चरणमा गणकले घरमुलीलाई भेटेर विवरण भर्ने छन् ।

यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो । नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको हो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो