राजनीति

एमालेबाट राजीनामा दिएका वामदेवलाई समाजवादीमा ढोका बन्द, फर्केलान् एमालेमै ? (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेमा विभाजन आइसकेपछि हाल जनप्रतिनिधिहरु दल छान्न व्यस्थ छन् । माधव नेपालको नेतृत्वमा दर्ता भएको नयाँ दल नेकपा एकीकृत समाजवादीमा जनप्रतिनिधिहरुले उत्साहप्रद रुपमा सनाखत गरिरहेका छन् । तर ढुलमुले राजनीतिक गरेको आरोप खेप्दै आएका वामदेव गौतम भने पार्टी विभाजनको पछिल्लो प्रकरणमा पनि बलियो अडान लिन नसकेकोले आलोचनाको शिकार बनेका छन् । नेकपा एमालेभित्रको विवादमा तटस्थ रहँदै आएका वामदेव गौतमले गत विहिबार पार्टी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिए ।

माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भैसकेपछि सोही पार्टी प्रवेश गर्न गौतमले राजीनामा दिएको अनुमान गरियो । तर माधव नेपालसँग पनि पार्टीको सिद्धान्तका बारेमा विवाद बढेपछि गौतम पुन नेपाली राजनीतिमा तटस्थ देखिएका छन् । तत्कालिन नेकपामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दादेखि तटस्थ रहेका गौतम विषेश कालखण्डमा कहिले ओली त कहिले प्रचण्ड खेमामा खुल्ने गरेका थिए ।

त्यसैले पनि उनलाई रजनीतिमा अडान लिन नसकेको भन्दै पीध नभएको लोटाको उपमा दिन थालिएको थियो । हाल आएर पार्टी विभाजन नै भइसक्दा पनि उनी लामो समय कुनै पार्टीमा खुल्न सकेनन् । अन्तत केपी ओलीलाई विभिन्न आरोप लगाउँदै राजीनामा दिएका गौतम समाजवादीमा पनि प्रवेश गर्न नसकेपछि आलोचनाको शिकार बन्दै आएका छन् । एमाले अध्यक्ष ओलीले त उनलाई उपप्रधानमन्त्री खानकै लागि एमाले छोडेको भन्दै आफूलाई आरोप लगाएर पानी माथिको ओभानो नबन्न सार्वजनीक चेतावनी नै दिएका छन् ।

यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा वामदेवकै नेतृत्वमा एमाले विभाजित भएर माले गठन भएको थियो । तर मालेले नेता कार्यकर्ताको साथ पाएपनि जनताको साथ नपाएपछि २०५८ सालमा पुनः एमालेमै माले समाहित भएको थियो । कतिपय एमालेका नेताहरु अहिले माधवको नेतृत्वमा भएको विभाजनलाई पनि मालेकै जस्तो हालत हुने भन्दै आलोचना गरिरहेका छन् । वामदेवले पनि एमाले छोडेर समाजवादीमा प्रवेश गर्ने तयारी गरेको भन्दै पहिला जस्तै उनी पुनः एमालेमा फर्कने र त्यसो नगरे उनको हालत पनि सीपी मैनालीको जस्तै हुने जस्ता अनुमान भैरहेका छन् ।

यता नेकपा मालेका महासचिव सीपी मैनाली भने एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीकै कारण उनीसँग इमान्दार नेताहरु टिक्न नसकेको आरोप लगाउछन् । माधव नेपाल केपी ओली र वामदेव गौतमको कार्यशैलिमा भएको विमेलको कारण उनीहरु एउटै पार्टीमा रहन नसकेको मैनालीको बुझाइ छ । पद र पैशाको लागि जे पनि गर्न पछि नपर्ने शैलीको कारण कम्युनिष्ट पार्टीहरुमा टुटफुट आउने गरेकको उनको भनाई छ ।

गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्न जनताको बहुदलीय जनवाद जवजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने, कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गर्नुपर्ने शर्त राखेका छन् । र तर सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जवजप्रति निकै अनुदार रहेकोले गौतमको माग सम्बोधन हुने सम्भावना निकै कम देखिन्छ । एमालेबाट राजीनामा दिइसकेको र नयाँ पार्टीमा पनि आफ्नो मागको सम्बोधन हुने सम्भावना नरहेकोले वामदेव गौतम आफ्नो राजनीतिक जीवनकै कठिन मोडमा पुगेका छन् ।