देश

बल्खुको तरकारी बजारमा पसेको बाढीबाट करोडौंकौ नोक्सानी


काठमाडौँ – आईतबार रातभर परेको वर्षाका कारण काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेका छन् । काठमाडौंका नदी किनारमा रहेका बस्तीहरुमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएको छ । काठमाडौंको थापाथली, कलंकी लगायतका नदी किनारका बस्तीहरुमा पसेको बाढीले सडक र नदी किनारमा रोकि राखेका सवारीहरु डुबाएको छ भने तरकारी बजार तथा पसलहरु डुबानमा परेका छन् । बल्खुको तरकारी बजारमा पसेको बाढीबाट करोडौं रुपैयाँ बराबरको नोक्सान भएको बताइएको छ ।

वागमती, विष्णुमति, धोबिखोला लगायतका अन्य नदीहरुमा आएको बाढीले काठमाडौंमा अहिलेसम्म ४ सय भन्दा धेरै घरहरु डुबानमा परेका छन् भने ५ सय भन्दा बढी मानिसहरुलाई उद्धार गरिएको छ । बाढीले थापाथली, बल्खु तरकारी बजार, अनामनगर क्षेत्र, सुन्दरीघाट र थापाथलीको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

अविरल वर्षापछि पानीको सतह नदी किनारसम्म पुगेपछि आसपासका सडकहरु अवरुद्ध भएका छन् । अहिले नेपालमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापिय क्षेत्रको प्रभाव रहेकोले अझै वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सरकारले नदी किनार आसपासका बासिन्दाहरुलाई शतर्क रहन आग्रह समेत गरेको छ ।