समाचार

डा.केसीले राष्ट्रसंघीय मुख्यालय अगाडि प्रदर्शन गर्ने


काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।डा. केसीले विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बर २० र २१ मा संयुक्त राष्ट्र संघको कार्यालयअघि हुने प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको हो ।

अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगतरूपमा सहभागी हुन उहाँले अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभा बस्ने बेला डा. केसीले प्रदर्शन गर्न लाग्नुभएको हो । विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले शान्तिपूर्ण प्रदर्शन गरिने उहाँले बताउनुभयो ।