राजनीति

ओली भन्छन्, झिकेर फाल्नु पर्ने काँडा आफैँ निस्कीए, हाइसञ्चो भो…


काठमाडौँ – एमाले विभाजनसहित माधवकुमार नेपालले नयाँ दल दर्ता गराएपछि अहिले सांसद नेताहरु तानातानको अवस्थामा छन् । पार्टी विभाजनपछि एमालेका अध्यक्षसहित शिर्ष नेताहरु माधव नेपालविरुद्ध दिनहुँजसो कडारुपमा आक्रोश पोखिरहेका छन् । नेकपा माओवादी केन्द्र र एमालेको एकताबाट बनेको नेकपा त विभाजन भयो भयो, एमाले पनि विभाजन भएपछि राष्ट्रिय राजनीति गर्माएको छ । एमाले फुटाएर माधव कुमार नेपालद्धारा गठन गरिएको नेकपा एसमा एमालेमा रहेका सांसद तथा नेताहरुलाई धमाधम तान्ने क्रम जारी छ ।

मन्त्रिपरिषद्लाई बल्छी छापेर सांसदहरुको तानातान चलिरहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु माधवविरुद्ध खनिने क्रम जारी छ । शनिबारमात्रै ओलीले छुटिएर गएका नेपालविरुद्ध रिस आवेग र चेतावनीको कडा आक्रोश व्यक्त गरेका छन् । एमाले फटाएर जानेहरुको कहिल्यै भलो नहुने ओलीको ठोकुवा छ । मन्त्री हुन चोइटिएर गएकाहरु एमालेमा बर्षाैँदेखि विग्रिएर रहेको तत्व भएको र त्यसरी चोइटिएर जाँदा एमाले स्वस्थ बनेको ओलीको टिप्पणी छ ।

मन्त्रीदेखि अन्य अवसरको आश्वासनमा एमालेबाट कतिपय नेता, सांसदहरु एमालेबाट नेकपा एकिकृत समाजवादीतर्फ मोडिएका छन् । त्यसलाइै रोक्नका लागि पनि एमाले शिर्ष नेताहरु माधव नेपाललाई सक्दो गाली , रिस र आरोप लगाउन व्यस्त देखिनछन् । ओली मात्रै होइन दोस्रो बरियताका नेताहरु पनि औपचारिक सभा समारोह भेट्ने वित्तिकै कार्यकर्ताहरुलाई थम्थमाउने भाषामा माधव नेपालको कटाक्ष गरिरहेको देखिन्छ । अवसरका पछि नलाग्न आग्रह गर्दै एमाले महासचिव इश्वर पोखरेलले माधव नेपालको राजनीतिक भविष्य सीपी मैनालीको भन्दा माथि नहुने कडा टिप्पणी गरेका छन् ।

तीन बर्षे एकछत्र सत्ता हाँकेका केपी शर्मा ओलीप्रति घमण्डी, एकोहोरो, गुठप्रेमी, अहंकारी, सर्वसत्तावादी सोँच र चिन्तनको रुपमा बुझाइ भएका माधव नेपालले विभाजन रोज्दा एमालेभित्र ठूलै राजनीतिक दरार पैदा भएको छ । माधव पक्ष जसरी पनि बढिभन्दा बढि नेता कार्यकर्ता सरकारको हरियो घाँस देखाएर आफ्नो पार्टीमा प्रवेश गराउन खोज्ने र ओली पक्ष जसरी पनि त्यसलाई रोक्न खोज्नेबीचको टकरावको रुपमा धेरैले अथ्र्याएका छन् । तर नेताहरुको तल्लो तहमा पुगेर हुने क्षणक्षाण र आरोपहरु स्वस्थ्य राजनीतिको नीति होइन ।