राजनीति

एमसीसीका विषयमा देउवा–प्रचण्डलाई ओलीले हकारे, ओली फकाउने दाउमा देउवा


काठमाडौँ – एमसीसी सम्झौता कार्यान्वयनकै विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सम्बन्ध सुधारको हात अघि बढाएको चर्चा छ ।तर यता ओलीसंग सम्बन्ध बढाउँदा गठबन्धनभित्रको सम्बन्धमा खटपट हुने खतरा बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मिसन एमसीसी सम्झौता संसद्बाट पारित गराउनु रहेको भन्दै पास गरेर देखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ठाडै चुनौती दिएका थिए । सरकारबाट बाहिरीएपछि पहिलोपटक संसद्लाई सम्बोधन गर्दै ओलीले एमसीसी सभामुखको टेबुलमै रहेकोलेदेउवालाई बहुमतको फाइदा उठाउँदै पास गरेर देखाउन चुनौती नै दिए । उनै ओलीले शनिबारको एक कार्यक्रममा बोल्दै एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ठोस धारणा माग गरे । ओलीले सरकारले चोर बाटोबाट एमसीसी पास गर्न खोजेकोमा आपत्ति समेत जनाए ।

एमालेअध्यक्षओलीलाई सत्ताबाट बहिर्गमित गर्दै सरकारमा कब्जा जमाउन सफल भएका प्रधानमन्त्री देउवा पछिल्लो समय उनै ओलीसंग सम्बन्ध सुधारको प्रयासमा छन् ।सरकार संचालन र देउवाको पहिलो प्राथमिकतामा रहेको एमसीसी सम्झौता पास गर्न प्रमुख प्रतिपक्षको भूमिकामा थन्किएका ओलीको समेत सहयोग आवश्यक पर्ने देखेपछि देउवा ओलीलाई फकाउने रणनीतिमा अघि बढेका हुन् । यसका लागि देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष दूत बनाएर बालकोट र बालुवाटारको ओहोरदोहोरगराइरहेको राजनीतिक वृत्तमा चर्चा छ । गत मंगलबार राति ओली र कार्कीबीच करिब साढे दुईघण्टा लामो छलफल भएको थियो ।यो छलफलले सम्बन्ध सुधार हुने मात्रै नभएर ओलीले एमसीसी सम्झौता पारित गर्न देउवालाई सघाउने चर्चा चलेको छ । तर ओली नेतृत्वको नेकपा एमालेमा समेत डा. भीम रावलसहितको एक पंक्ति एमसीसीकोकट्टर विरोधी रहेकाले ओली–देउवा सम्बन्ध सुधारको प्रयासमा बाधक बन्ने देखिएको छ ।

एमसीसी सम्झौता कार्यान्वयनका विषयमा ओलीले देउवालाई साथ दिएमाधव नेपाललाई छोडेर एमालेमै रोकिएका रावलसहितका १० भाई असन्तुष्ट हुने देखिन्छ ।किनकि यसअघि सरकारको नेतृत्व गरेका बेला एमसीसी पास गर्ने तयारी गरेका ओलीले देउवालाई सघाउने आधार पनि देखिन्छ ।एमसीसी सम्झौता पारित गर्न ओली–देउवा अघि बढे भने हालको सत्ताधारी गठबन्धनमै किचलो आउन सक्छ । गठबन्धनका प्रमुख शक्ति माओवादी केन्द्र र एकिकृत समाजवादीले हालसम्म एमसीसीको विरोध नै गरिरहेका छन् । त्यसैले ओलीको साथ पाएर देउवा अघि बढे गठबन्धनकै भविष्यमा कालो बादल मडारिने देखिन्छ ।

२०१६ मा एमसीसी सम्झौतामाथि नेपालले हस्ताक्षर गर्दा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हाल कानुनमन्त्रीको जिम्मेवारीमा छन् ।देउवाको विश्वास पात्रका रुपमा काम गर्दै आएका कार्कीलाई एमसीसी सम्झौतामा सहमति जुटाउने जिम्मा नै दिएको विश्लेषण भइरहेका छन् । तर प्रतिपक्षी एमालेले सभामुखको भूमिका र राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा संसद् नै अवरुद्ध गर्ने चेतावनी दिएकाले देउवा संकटमा छन् । यसकारण संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेका हुन् ।यता सत्ताका मुख्य सहयोगी बनेका प्रचण्ड–माधवलाई गठबन्धन बचाउनकै लागि भएपनि एमसीसी पारित गर्न देउवालाई सघाउनु पर्ने अवस्था देखिन्छ । नत्र देउवाले ओलीसंग मिलेर फरक समीकरण बनाउने सम्भावनालाई समेत नकार्न मिल्दैन ।