राजनीति

काँग्रेसमा महामन्त्री लडाई, कति जनाले तान्दैछन् गगन थापाको खुट्टा ? गुट परिवर्तन गरेर चुनाव जित्ला ?


काठमाडौँ – काँग्रेसको आगामी महाधिवेशनका लागि लामो समयसम्म आफ्नो कित्ता स्पष्ट नपारेका नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समूहमा खुलेका छन् । तर महामन्त्रीमा उम्मेद्वारी दिए लगत्तै कृष्णप्रसाद सिटौला समूहबाट गुट परिवर्तन गरेका थापालाई पौडेल पक्षभित्र पनि ठुलै संघर्ष गर्नुपर्ने देखिएको छ ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनका बेला कृष्णप्रसाद सिटौला समुहको तर्फबाट महामन्त्रीमा भिडेका गगन थापाले १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा गुट परिवर्तन गर्दै पुनः महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन् । १३ औं महाधिवेशनमा डा. शशांक कोइरालासंग महामन्त्रीमा पराजित थापाले अहिले उनै कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर पक्षको फेरो समाएका छन् ।

पौडेल पक्षको तर्फबाट महामन्त्रीको बलियो प्रतिस्पर्धिका रुपमा थापालाई हेरिएको त छ, तर यहीँभित्र पनि थुप्रै नेताको महामन्त्री मोह देखिएकाले थापालाई महामन्त्रीको लडाइँमा चुनौती देखिन्छ । किनकि पहिलेदेखि नै यसगुटमा क्रियाशिल रहँदै आएका नेताहरु मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरुराज घिमिरे र धनराज गुरुङ लगायतले महामन्त्रीमै आफ्नो दाबी रहने बताएका छन् ।

पाँच दशकभन्दा लामो समय पार्टीको नेतृत्व गरेको पौडेल समूहबाट वरिष्ठ नेता पौडेलसहित कोइराला परिवारका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाको पनि सभापतिमा दाबी छ ।संस्थापक नेता गणेशमानका पुत्र प्रकाशमान सिंह पनि सभापतिका आकांक्षी छन् । पौडेल समूहबाटै नयाँ पुस्ताका नेता कल्याण गुरुङले पनि बुधबार सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र रामशरण महत पनि टिमबाट साझा उम्मेदवार नबने आफूहरूले सभापतिमै उम्मेदवारी दिने दबाब दिइरहेका छन् ।

यसभित्र पनि गगन थापा कसको नजिक रहेर महामन्त्री बन्ने लाइनमा छन् अहिले चासोका साथ हेरिएको छ ।किनकि पौडेल पक्षभित्र नै सभापतिका प्रमुख चार आकंक्षी चारतिर छन् । उनीहरु एक भएर जाने सम्भावना पनि निकै चुनौतिपूर्ण देखिन्छ।तर गत निर्वाचनमा आफ्नै ससुरा अर्जुननरसिंह केसीसंग भिडेर आफु पनि हारेका र केसीलाई पनि हराएका थापालाई स्थापित गर्न १४ औं महाधिवेशनमा केसी लागिपरेको चर्चा पनि चलिरहेको छ ।

गगन थापा नेपाली काँग्रेस र्पाीभित्र कम बाहिर बढि लोकप्रिय नेता हुन् ।पार्टीभित्र पनि कार्यकर्ता तहमा प्रभावशाली मानिएका थापालाई केन्द्रीय नेताहरुले पार्टीभित्र बढि स्पेश दिन नहुने लगभग साझा लाइन बनाएको देखिन्छ । यद्यपी अस्तित्व हराउँदै गएको सिटौला समुहबाट पौडेल समुहतिर लम्कीएका उनको यो कदमलाई कतिपयले राजनीतिक भविष्य सुरक्षीत बनाउन खोजेको अर्थमा समेत बुझेका छन् । तर पौडेल पक्षले थापालाई साझा उम्मेद्वारका रुपमा सहर्ष स्वीकार्छ कि यहाँभित्र पनि संघर्ष चर्किन्छ, यसले थापाको भविष्यलाई निर्धारण गर्नेछ ।