राजनीति

गृहमन्त्री खाँण हेलम्बु र मेलम्ची बाढी प्रभावित क्षेत्रमा


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो ।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर-२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिए । साथै टोलीले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्था बारेमा जानकारी लिएको थियो ।

गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा थिए ।

टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ ।