राजनीति

विवाद हुने भएपछि कानुन व्यवसायीको भेलामा गएनन् ओली


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानुन व्यवसायीहरुको भेलामा नजाने हुनुभएको छ । ओलीलाई प्रमुख अतिथि बनाएर एमालेनिकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए)ले शुक्रबार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा तय गरिएको उक्त भेलामा एमाले नेताहरुको सुझावपछि ओलीले अन्तिम समयमा उपस्थित नहुने निर्णय लिनुभएको हो । पीपीएलएले ओलीलाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोलाएको थियो । असार २७ मा भएको १० बुँदे सहमति अनुसार एमाले एकता अघि बढिरहेको अवस्थामा अर्को पक्षले पीपीएलएका अध्यक्ष रुद्र नेपाललाई थाहै नदिइ कार्यक्रम राखेपछि विवाद भएको थियो ।

कानुन व्यवसायीहरुबीच नै विवाद भइरहेका बेला उक्त कार्यक्रममा जाँदा पार्टीमै नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएको बुझिएको छ ।