राजनीति

सरकारले दार्चुला तुइन घटना थामथुम गर्न लाग्यो : एमाले


काठमाडौँ – प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले दार्चुला तुइन प्रकरण थामथुम पार्ने प्रयास गरेको आरोप लगाएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ढिलो गरी छानबिन समितिले प्रतिवेदन बुझाए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम पार्ने प्रयासमा लागेको आरोप लगाएका हुन् ।

‘आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दछौं भन्दै एमालेले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।