राजनीति

कांग्रेसमा उम्मेदवारी घोषणाको होड, संस्थापन इतर समूहले सार्वजनिक प्रतिवद्धता जनाउने


काठमाडौँ – कांग्रेसको नेतृत्वमा दोहोरिन प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा एक जना मात्र उम्मेदवार अघि बढाउने रणनीतिमा लागेको छ । देउवालाई विभाजित भएर हराउन नसकिने निष्कर्षका साथ संस्थापन इतर पक्षले एक जना मात्रै उम्मेदवार बनाउने रणनीति अघि सारेको हो ।

संस्थापन इतर समूहले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने छ । पौडेल समूहमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिको मुख्य आकांक्षी रहनुभएको छ । महाधिवेशनको प्रक्रिया सुरु हुनु एक दिनअघि देशभरका कार्यकर्तालाई सकारात्मक सन्देश सार्वजनिक प्रतिवद्धता जनाउन लागिएको नेताहरूले बताएका छन् ।

विरोधी खेमाका नेताहरू एकजुट भएपछि सभापति शेरबहादुर देउवालाई पनि दबाब परेको छ । आफ्नै समूहका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेपछि देउवा थप दबाबमा पर्नुभएको छ ।