राजनीति

कर्णाली प्रदेशका तीन सांसद एकृकीत समाजवादीतिर


काठमाडौँ – नेकपा एमालेमा रहेका कर्णाली प्रदेशसभाका तीन सांसद नवनिर्मित पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । ती तीन सांसदले आफूहरु एकीकृत समाजवादी पार्टीको पक्षमा रहेको सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा पुगी सनाखत गराएका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया एमाले केपी शर्मा ओली अध्यक्ष रहेको दल छोडी माधवकुमार नेपालले खोलेको नयाँ पार्टीमा आवद्ध भएका हुन् । ओली र शाही भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् ।

प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, सम्बरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो । एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको कमिटीमा छन् ।