देश

ठगीको आरोप लागेका चार नेटवर्किङ कम्वनीमा वाणिज्य विभागको छापा


काठमाडौँ — स्वदेशीको नाममा विदेशी सामान उच्च मूल्यमा बिक्री गर्दै आएका ४ नेटवर्किङ कम्पनीमा छापा मारेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोलीले वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ धन्दा गरिरहेको गुनासो आएपछि ती कम्पनीमा छापा मारेको हो ।

वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ धन्दा गरिरहेको गुनासो आएपछि विभागले ललितपुरमा रहेको नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, काठमाडौंमा रहेको हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिमा छापा मार्दा कम्पनीले खरिद–बिक्री गरेका बिल, बिक्रीका लागि तयार पारेका सामग्री जफत गरेको छ ।

विभागले अहिले जफत गरिएका सामग्री प्रत्यक्ष बिक्रीको नाममा इजाजत लिँदा सुरुमा बिक्री गर्ने भनिएको वस्तु होरहोइन त्यो पनि अध्ययन गरिरहेको छ । विभागले यदि उद्देश्य र तोकिएको सर्तभन्दा तलमाथि गरेर व्यवसाय गरेको भेटिए इजाजत स्थगन गर्ने छ ।

विभागले इजाजत पाएका अन्य ५ कम्पनीको पनि अनुसन्धान गर्ने जनाएको छ । पछिल्लो समय बजारमा हाइपर फन्ड ग्लोबल, जोसियल, सिआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स, पोइन्टलगायत विदेशी तथा स्वदेशी कम्पनीहरूले नेपालमा नेटवर्किङ गरिरहेका छन् । विभाग स्वयंले नेटवर्किङ भइरहेको स्वीकार गरिसकेको छ । तर ती व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउन सकेको छैन । विगतमा लाखौं सर्वसाधरणलाई ठगी गरेको आरोप खेपेका व्यक्तिबाटै सञ्चालित यी कम्पनीलाई विभागले २०७७ असार १६ देखि इजाजत दिन थालेको हो । गत भदौमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको थियो ।