राजनीति

काँग्रेस वडा अधिवेशन प्रक्रिया भोलीबाट


काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया भोलिबाट शुरु हुने भएको छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।

समस्या भएका जिल्लाहरुमा बाहेक काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । हिजो प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएकन हुन्।

काँग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । ७७ वटै जिल्लाका क्रियाशीख सदस्यताको नाम एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशन जिल्लाअनुसार नै फरकफरक मितिमा हुने छ । काँग्रेसले भोलीको मितिदेखि ५ दिनमा वडा अधिवेशन सम्पन्न गर्ने छ । केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक दुई दिन हेरफेर हुने भएको हो ।

काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरेको छ । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली काँग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।