राजनीति

सभामुख सापकोटाविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअधिकारवादी सुशिल प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले मुद्दा दायर गरेका थिए ।

सापकोटाविरुद्ध लामा, प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो । हालसम्म यो मुद्दा २० पटकसम्म सुनुवाइको पेशी तोकिएको छ ।

२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन् ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ ।

तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए । यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो। लगत्तै पुर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन् ।

२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन । यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५/१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो । सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ ।