समाचार

महालक्ष्मी बैंकले धितो सुन नै खाइदियो, नक्कली सुनको पोको दिएर जालसाजी गर्न खोज्यो (भिडियोसहित)


काठमाडौँ – महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् । ६ वर्षअघि धितो राखेको सुन कर्जा चुक्ता गरेर अहिले झिक्न जाँदा ‘पित्तल बनिसक्यो’ भन्दा तपाई पत्याउनु हुन्छ ? ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकको शाखाले ठ्याक्कै यस्तै गरिदिएको छ ।

ललितपुरकै विष्णुदेवी महर्जनले ७२ सालमा अन्दाजी २४८ ग्राम अर्थात २२ तोला सुन महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा धितो बन्धकी राखेकी थिइन् । त्यसबापट ८ लाख ५४ हजार रुपैयाँ कर्जा लिइन् । छ वर्षसम्म उनले सावा र ब्याज तिर्दै आइन् ।
कोभिड १९ को महामारी सुरु भएपछि व्यापारमा मन्दी आयो । बैंकको किस्ता तिर्न विष्णु देवीलाई हम्मे हम्मे पर्न थाल्यो । तर बैंकले आफ्ना ऋणको दुःख कहाँ बुज्थ्यो र ? बैंकले कहिले लिखित, कहिले मौखिक ताकेता गरिरह्यो ।

बैंकले टर्चर नै गर्न थालेपछि विष्णुदेवीले यहि भदौ २ गते एकै पटक ८ लाख ४० हजार रुपैयाँ महालक्ष्मी विकास बैंकको खातामा जम्मा गरिदिइन् । बैंकले पाउनु पर्ने सबै पैशा पाएपछि विष्णुलाई लागेको थियो अब आफ्नो २२ तोला सुन बन्धकीबाट मुक्त हुनेछ ।
बैंक भौचर लिएर उनी बैंकको सुन कर्जा शाखामा पुगिन् । सुन दिने बेला बैंकका कर्मचारीले भने – तपाई राख्नु भएको सुन छ वर्षमा पित्तल भएछ । अब तपाईले सुन पाउनु हुन्न । नक्कली धातुलाई सुन भनि छक्याई, झुक्याई धितो राखेर कर्जा लिएको कसूरमा अब तपाईविरुद्ध हामी एक्सन लिन्छौं ।’

बैंकको यस्तो जवाफ सुनेपछि विष्णुदेवी छाँगाबाट खसे झै भइन् । ७२ सालमा घरै रित्तो पारेर औंठी, मुन्द्री, टप, तिलहरी, बाला, चुरा गरी ३५ प्रकारका गहना बैंकलाई बुझाएकी थिइन् ।

बैंकका कर्मचारीहरुले ती सबै गहनाहरु एक एक हेरेर जाँचेर, नापजाँच गरेर सबै प्रकारले ठिक छन् भनि रुजु गरेर, तीन तहबाट ऋण स्वीकृत गरिएको थियो । छ वर्षपछि ऋण चुक्ता गरेर आफ्नो बन्धकीमा परेको सुन झिक्न जाँदा बैंकले भनिरहेको छ – सुन भनेर नक्कली गहना राख्ने ? तपाईको नक्कली गहना हामीले दिन मिल्दैन । सक्कली सुन त परेको कुरा, नक्कली पनि पाउनु हुन्न ।


नक्कली सुन भन्नाले के ? पुरानो एक टिभी धाराबाहिकमा सुन भनेर पित्तल राखेर कर्जा निकाले जस्तो व्यवहार बैंकले आफ्नै ऋणीसँग गरेको देखियो । सबैलाई थाहा भएकै कुरा हो, प्रत्येक बैंकमा सुन जाँचकीहरु छुट्टै हुन्छन् । जसको काम नै सुन जाँच्ने हो । सुन र पित्तल सामान्य मानिसहरुले समेत छुट्टयाउन सक्छन् । त्यसमाथि पेशा नै सुन जाँच्ने भएकाहरुले त राम्रैसँग सुन चिन्छन् । सुन जाँच्ने पेशा भएकाहरुलाई जति गरे पनि नक्कली सुन लगेर झुक्याउन सकिदैन ।


त्यसमाथि जाँचकीहरुसँग विभिन्न किसिमका जाँच्ने विधि, प्रविधि हुने गर्छ । जसबाट कुन सुन, कुन लसुन सजिलै छुट्याउँछन् । तर पनि महालक्ष्मी विकास बैंकले भनिरहेको छ – तपाईले धितो राख्नु भएको सुन त नक्कली रहेछ । नक्कली सुन धितो राखेको बैंकले त्यही बेला किन थाहा पाएन ? अहिल अहिले ऋणीले सबै सावा ब्याज तिरिसकेपछि बैंकले नक्कलीको फन्डा अघि सारेको छ ।

कदाचित त्यो सुन नक्कली नै राखिएको थियो भने धितो राख्नेले त थाहा पाएकै हुन्छ । नक्कली सुन छुटाउन विष्णुदेवीले अहिले आएर सबै ऋण किन तिरिदिन्थिन होला ? धितो माया मारेर उनले आफ्नो रकम सुरक्षित गर्न सक्थिन् । तर विष्णुदेवीले धितोको मायाले बैंकको ऋण तिरेको देखिन्छ ।