विदेश

अफगानिस्तानबाट बाहिरिए अमेरिकी सेना, तालिबानले मनाए खुसियाली


काठमाडौँ – अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो ।

अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ ।’

जुन मिसन सन् २००१ सेप्टेम्बर ११ मा सुरु भएको थियो। यसअन्तर्गत अमेरिकाले ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा सदस्यलाई कारबाही ९हत्या० गरेको थियो ।

अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दसकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको पनि उनले जानकारी दिए ।

यसैबीच अन्तिम उडानमार्फत अमेरिकी सैनिक बाहिरिँदै गर्दा तालिबानहरूले राति काबुलको आकाशमा रातो प्रकाश छर्दै मेसिन गनमार्फत गोली चलाएर खुसियाली मनाएका थिए । अमेरिकी फौज फिर्ती अभियानका सुपरिवेक्षक जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा अफगानिस्तानबाट झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताएका छन् ।