राजनीति

मेरो यो नयाँ जीवन बोनसमा प्राप्त गरेको हो, कार्यकारी जिम्मेवारीमा बस्दिनँ : झलनाथ खनाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताएका छन् ।

भारतमा मृर्गौला प्रत्यारोपण गरेर फर्किएपछि विमानस्थलमा भएको स्वागत कार्यक्रममा बोल्दै भने, ‘उमेरले ७१ वर्ष पार गरिसके। पछिल्लो सर्जरीपछि पाएको नयाँ जीवन मेरो नाफाको बोनसको जीवन हो । अब सास रहुञ्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढीकरणमा लाग्छु ।’

उमेरले पनि नसक्ने भएकाले अब कुनै कार्यकारी पदमा नबस्ने उनले घोषणा गरे । पार्टीले दिएको जिम्मेवारीअनुसार नयाँ क्रान्तिकारी धारबाट समाजवादको लक्ष्यमा पुग्ने वातावरण तय गर्नमा जोड दिए ।

‘नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको छ । हामीले पार्टी विभाजन गरेका होइनौं। विद्रोह गरेका हौं’ खनालले भने । एमाले आफूहरुले बनाएको पार्टी भएकाले आफ्नो नसानसमा भएको बताए ।

भने, ‘एमाले हामीले निर्माण गरेको पार्टी हो। तर, पछिल्लो समय एउटा अहंकारी गुटले कब्जा गरेको छ। एमाले हाम्रो नसानसमा छ । पार्टीभित्रैबाट संघर्ष गर्न खोज्दा दक्षिणपन्थी शक्तिसँग लागेको अहंकार र व्यक्तिवादको कारणले हामी सफल भएनौं।’ समाजवादको लक्ष्यमा जानको लागि एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।