राजनीति

पार्टी विभाजनको पक्षमा नलाग्न ओलीको निर्देशन


काठमाडौँ – नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष केपी ओलीले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टीबाहिरका विभिन्न शक्ति र तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नुपरेको उनले बताएका छन् ।

हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशनमा ओलीले असहज परिस्थितिको मिलेर सामना गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी पनि तोकिएको छ । त्यसका लागि ३२ नेता तोकिएका छन् ।

एमालेले जेठ २ कै पार्टी संचरना अनुसार प्रदेश तहमा १० बुँदे कार्यान्वयन टोली बनाएको हो ।

जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनेको छ ।