राजनीति

तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल, मन्त्रिपरिषद्ले पूर्णता पाउने विश्वास


काठमाडौँ – तीन दलका शीर्ष नेताहरु सरकारी निवास बालुवाटारमा छलफलका लागि जुटेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ ।

अहिले चलिरहेको छलफलमा मन्त्रिपरिषद् विस्तारको विषयमा केन्द्रीत रहेका बताइएको छ । माओवादीका अध्यक्ष प्रचण्ड भने छलफल सुरु हुने समयभन्दा एक घण्टाअघि नै बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवा र प्रचण्डबीच हिजो शनिबार पनि छलफल भएको थियो । सो भेटमा पनि मन्त्रिपरिषद्लाई नै पूर्णता दिने विषयमा छलफल भएको उनका सचिवालयले जनाएको थियो ।

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बताइन्छ ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ। सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। बजेटमा अन्योल छ। सुशासनमाथि प्रश्न उठेका छन्। संसद् बिजनेसविहीन छ। तर, देउवा भने सत्ता सञ्चालनभन्दा पार्टी महाधिवेशनबाट नेतृत्व पुनः हातमा लिने दाउमा लागेको कांग्रेसकै नेताहरू बताउँछन्।