राजनीति

सचिव भट्टराईको नेपाललाई सुझाव : आफैँसँग भएकालाई अध्यक्ष बनाउनु


काठमाडौँ – एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएक छन् । उनले नेपाललाई आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै सुझाव दिएका हुन् । आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने भन्दै अध्यक्ष नेपाललाई सुझाव दिएका हुन् ।

भट्टराईले हिजो राति आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने बताएका हुन् । उनले लेखेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु, आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’

शनिबार एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई छाडेर एमाले गएका नेताहरुप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएका थिए । उनले दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति आक्रोश पोखेका थिए । साथै, अध्यक्ष नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोपसमेत लगाएका थिए ।