राजनीति

महाधिवेशनमा जुट्यो काँग्रेस


काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अब १४औँ महाधिवेशनमा केन्द्रित हुने भएका छन् । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिको अनशन टुङ्गो लागेपछि पार्टी अब सम्पूर्ण रूपमा महाधिवेशनमा होमिने अवस्था सिर्जना भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस विषयमा सहमति भएपछि चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिलेअनशनसमेत तोडिएको छ ।

शीर्षनेताबीच सहमतिपछि शनिबार साँझ जिल्ला सभापतिले अनशन तोडेको र पार्टी अब पूर्ण रूपमा महाधिवेशनमा जुट्ने अवस्था बनेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । आफूहरूको माग पूरा भएकाले अनशन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सदस्य डा। मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।गोरखापत्र दैनिकबाट