खेलकुद

इतिहासकै उत्कृष्ट ट्रान्सफर विन्डो,रोनाल्डोको युनाईटेडमा पुनरागमन


काठमाडौँ – शुक्रबार विश्व ट्रान्सफर बजार एकपछि अर्को समाचारले तरंगित बन्यो । विशेष गरेर पोर्चुगलका विश्व चर्चित स्टार रोनाल्डो युभेन्टस छाडेर इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा सर्वाधिक रह्यो । तर, दिनको अन्यसम्म आईपुग्दा ट्रान्सफरले अर्काै मोड लियो । एक रिपोर्ट ।

एउटा कुनै परिवारको एक सदस्य घर छोडेर गईसकेपछि पुन घरमा आउँछ भने त्यो घरको सदस्य कति खुशी हुन्छ होला, सोचौं त । हो, त्यस्तै खुशी भएका छन् इंग्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका प्रशंसकहरू । कारण हो क्रिस्टियानो रोनाल्डो । पोर्चुगलको मात्रै नभई विश्वभरका करोडौं व्यक्तिले मन पराएका क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर शहरमा पुनरागमन गरेको छ । क्रिस्टियानो रोनाल्डो एक साधारण नामलाइ अहिलेको रोनाल्डो नामको भारी ओजनसम्म पुर्याएको क्लब म्यानचेष्टर युनाइटेडमा पुनरागमन गर्ने खबरले क्लबका प्रशंसकमा लिग जितेकोभन्दा बढी खुशी छाएको छ । म्यानचेष्टर शहरमा फुटवलप्रेमीले उत्सवसरह खुशी मनाउन थालेका छन् ।

रोनाल्डोलाई युनाइटेडले २५ मिलियन युरो ट्रान्सफर फीमा अनुबन्धन गरेको जनाइएको छ । युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जानकारी गराएको हो । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् । रोनाल्डो र युनाइटेडबीच व्यक्तिगत सहमतिका लागि पनि छलफल भइसकेको बुझिएको छ । शुक्रबार बिहानदेखि नै रोनाल्डो म्यानचेस्टर सिटी जाने चर्चा चुलिएको थियो । तर उनी म्यानचेष्टर शहर जाने त भए तर सिटी नभई युनाईटेड । शुक्रबार केही घण्टामा नै विश्व फुटबललाई नियाल्नेहरुले सोचेभन्दा विल्कुलै फरक भइदियो । रोनाल्डोको एजेन्ट जोर्गे मेन्डेसका अनुसार युनाईटेडको प्रतिष्पर्धि क्लब म्यानचेष्टर सिटीसँग कुरा भए पनि त्यो औपचारिक थिएन । मात्रै मौखिक रुपमा कुराकानी भएको थियो ।

सिटीसँग ट्रान्सफर फीको कुरा मिल्न नसक्दा रोनाल्डो सिटी जाने सम्भव सकिएको थियो । युभेन्टसले रोनाल्डोको ट्रान्सफर फी २५देखि ३० मिलियन युरो राखेको थियो तर सिटी भने उनलाई फ्री मा वार्षिक १० देखि १५ मिलियनसम्म दिने सहमतिमा लान खोजेको खबर बाहिरिएको थियो । साथै,युभेन्टसले यसको विकल्पमा रहीम स्टर्लिङ, बर्नाण्डो सिल्भा र ग्याव्रियल जिजस मध्ये कोही एकसँग साट्ने प्रस्ताव राखेको र सिटीले यो प्रस्ताव अस्वीकार गरेसँगै युनाईटेड रोनाल्डोलाई सिटीबाट हाईज्याक गर्न सफल भएको हो ।

यसअघि शुक्रबार नै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले पनि रोनाल्डोको आगमनबारे संकेत दिएका थिए । ‘रोनाल्डो यस क्लबका लेजेन्ड हुन् । उनीसँग हामी सम्पर्कमा नै छौं । ब्रुनेले उनीसँग कुरा गरिरहेका छन् र हामी पनि उनको चहाना बुझ्छौं । उनी यदि युभेन्टस छाड्न चाहन्छन् भने हामी यहाँ छौं भन्ने उनले बुझेका छन्,’ सोल्साएरले भनेका थिए ।
युनाईटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गर्न लागेको हो । रोनाल्डो ओल्टाफोर्डमा फर्कन भने केही समय लाग्ने छ । रोनाल्डोले अब १० दिन क्वारेन्टाइनमा बिताउनु पर्ने छ । त्यस्तै सेप्टेम्बर ४ देखि इन्टरनेस्नल ब्रेक छ । उनी चाँडोमा पनि सेप्टेम्बर ११ मा न्युक्यासलविरुद्धको खेलमा उपलब्ध हुन सक्ने छन् ।

रोनाल्डोले १३ वर्षपछि युनाइटेडमा पुनरागमन गर्दै छ । ३६ वर्षीय रोनाल्डोले सन् २००३ देखि २००९ सम्म ६ वर्ष ओल्टाफोर्डमा बिताउँदा तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका छन् । त्यस्तै, फिफा क्लब वल्र्ड कप तथा कम्युनिटी शील्ड पनि जितेका थिए । त्यस्तै उनले आफ्नो पहिलो बालिन डिओर पनि युनाईटेडमा हुँदा नै जितेका थिए । रोनाल्डोले सन् २००९ मा रियल मड्रिड जानुपूर्व म्यानचेस्टर युनाइटेडका लागि २९२ खेलमा ११८ गोल गरेका थिए । सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए । उनले युभेन्टसमा तीन सिजन बिताउँदा १३४ खेलमा १०१ गोल गर्दै २२ गोलको लागि अशिष्ट गरेका छन् । युभेन्टससँगको सम्झौता एक वर्षा बाँकी रहँदै उनी क्लब छोड्ने निर्णयमा पुगेका हुन् । युभेन्टसले यस सिजनको पहिलो खेल उदिनेससँग खेलेको थियो । जसमा प्रशिक्षक मास्सिमिलियाने एलेग्रीले सुरुवाती ११ मा राखेका थिएनन् ।

यसै ट्रान्सफर विन्डोमा लियोनल मेस्सीले २१ वर्षसम्म रहेको क्लब बार्सिलोन छोडी फ्रन्सको क्लब पेरिस सेन्ट जर्मन गएका छन् । त्यस्तै रियल मड्रीडका कप्तान सर्जियो रामोस पनि पीएसजीसँग अनुबन्धन भएका छन् । त्यस्तै राफायल भरान पनि म्यानचेष्टर सिटीसँग आबद्ध भएका छन् । विश्व फुटबललाई नजिकबाट नियाँली रहेका फुटबल पण्डितहरु यस ट्रान्सफर विन्डोलाई अहिलेसम्मकै उत्कृष्ट विन्डो भनेका छन् ।