राजनीति

पार्टी फुटेपछि ओली–नेपाल विष ओकल्दै, साथ छोड्ने नेतालाई माधवले यस्तो भने


काठमाडौँ – पार्टी विभाजन गरेर फरकफरक पार्टीको अध्यक्ष बनेका केपी शर्मा ओली र माधवकुमार नेपाल अझै आरोप प्रत्यारोपमा छन् । दुबैले विभाजनको दोष एकअर्कामाथि लगाएर आफु बच्ने दाउमा छन् ।

दुई व्यक्तिले चलाएको शक्ति संघर्षकै कारण नेकपा एमाले विभाजन गरेर फरक पार्टीको अध्यक्ष बन्न सफल भएका माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओली अब दुई उद्देश्यसहित दुईतिर छन् । तर विभाजनपछि पनि एकअर्कामाथि प्रकट गर्ने उनीहरुका रोष एकैतिर केन्द्रीत छन् । शनिबार एमाले अध्यक्ष ओलीले आफु एकताका लागि भरमग्दूर प्रयास गरेर लागेपनि विभाजन गर्ने पर्ने कसम खाएका माधवकुमार नेपालका कारण एमाले एक हुन नसकेको आरोप लगाए । तर उनले माधव नेपालको विभाजनलाई एकदुई पात खस्दैमा रुखलाई असर नपर्ने भन्दै पीर मान्नुपर्ने अवस्था नभएको दाबी गरे ।

एमालेबाट विभाजित भएर नेकपा (एकिकृत समाजवादी) बनाएका नेपालले देशलाई अप्ठ्यारोमा पार्ने गरि विदेशीको दलाली गरेर एमाले विभाजन गरेको निष्कर्ष ओलीको छ । तर यसलाई खण्डन गरेका नेपालले ओलीलाई सुध्रिन आग्रह गर्दै एमाले क्रान्तिकारी पार्टी नरहेकोले नयाँ पार्टी खोलेको र मध्यमाग्र्री बनेर नबस्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले अर्का पार्टी बनाउन दबाव दिएका नेताहरुले बोली फेरेको देख्दा अचम्म लागेको समेत बताए ।

भदौ ८ मा मात्रै दशबुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि लामो समय माधव नेपाल समूहमा रहेका स्थायी कमिटीका १० जना एमालेमा बस्दा एकीकृत समाजवादीलाई चुनौती थपिएको छ । एमालेमा दोस्रो तह भनेर चिनिने र भावी नेतृत्वकै रुपमा हेरिएका नेताहरु एकीकृत समाजवादीमा गएका छैनन् । जसले ओलीलाई समेत राहत मिलेको छ । आगामी मंसिरमा महाधिवेशन गर्ने तय गरेको एमालेमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिने प्रतिपस्र्धी पनि अभाव देखिएको छ । यता एमालेबाट विभाजित बनेको माधव नेपालको पार्टी सरकारमा सामेल हुँँदैछ । सरकारमा जाने, पार्टीको संगठन बलियो बनाउने र गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष नेपालको रोडम्याप छ । तर विभाजनपछि पनि कुन तुकले एकअर्कामाथि भिडिरहेका छन्, अन्योलपूर्ण छ ।