राजनीति

समाजवादी क्रान्तिको नेतृत्व युवाहरुले गर्नुपर्ने प्रचण्डको भनाई, ओलीबाट प्रतिगमनको खतरा कायमै रहेको जिकिर


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउनुभएको छ । आफूले पनि युवा अवस्थामा नै क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उहाँले युवाले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

आज राजधानीमा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको समाजवादी क्रान्तिको नेतृत्व युवाहरूले गर्नपर्ने बताउनुभयो । कम्युनिस्ट र लोकतन्त्रवादी मिलेका बेला ठूला परिवर्तन भएको र प्रतिक्रियावादी परास्त भएको उल्लेख गर्दै कम्युनिस्ट र लोकतन्त्रवादी गठबन्धनले नै केपी ओलीको निरंकुशता पराजित गरेको उहाँले उल्लेख गर्नुभयो । ओलीले बोल्ने एउटा र गर्ने अर्को गरेको कारण पार्टी एकता असफल भएको बताउनुभयो ।