कोरोना विशेष

एकै दिनमा राजधानीमा झण्डै ३६ हजारले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौँ – काडमाडौँ महानगरपालिकामा हिजो शुक्रबार एकै दिन झण्डै ३६ हजार जनाले कोरोनाविरुद्ध भेरोसिल खोपको दोस्रो मात्रा लगाएका छन् । महानगरभित्र हिजो ३५ हजार ९ सय ९८ जनाले खोप लगाएका हुन् ।

तीमध्ये पुरुष १६ हजार ६ सय ३८ र महिला १९ हजार ३ सय ६० रहेका छन् । महानगरले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार ३२ वटै वडामा पछिल्लो एक दिन ६० वर्षमाथिका नागरिक १४ हजार ९ सय ४ जनाले खोप लगाएका थिए ।

सबैभन्दा धेरै ३२ नम्बर वडामा २ हजार ३ सय ९६ जना सामेल हुँदा सबैभन्दा थोरै २३ नम्बर वडामा ४ सय जनाले लगाएका हुन् । त्यसैगरी पहिले खोप लगाउन छुटेका ७ हजार ४ सय ५७ जनाले पनि हिजो खोप लगाएका हुन् ।