राजनीति

सर्वोच्च पुग्ने भयो एमाले र सभामुखको विवाद, बदला लिने ओलीको तयारी (भिडियोसहित)


काठमाडौँ – पार्टी विभाजित भएपछि विक्षिप्त बनेको नेकपा एमालेले अझै पनि माधव नेपालको पार्टीमा पुगेका सांसद्हरुको पद खारेज गर्न पहल गरिरहेको छ । निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाको प्रत्यक्ष सम्लग्नतामा एमाले विभाजित भएको भन्दै केन्द्रीय कमिटी बैठकले नै उनीहरुविरुद्ध कानुनी लडाइँ लड्ने निर्णय गर्यो । यससँगै अब एमाले र सभामुखबीचको टसल अदालतसम्म पुग्ने निश्चित भएको छ ।

नेकपा एमालेमा विभाजन आउनुको मुख्य दोश अध्यक्ष केपी ओलीलाई नै जान्छ । उनको व्यवहार मिलाउने भन्दा पनि आफूइत्तरका शक्तिलाई बदला लिनेमै केन्द्रीत भएपछि नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए । तर ओली यो आरोप स्वीकार्न तयार छैनन् । उनी त निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाका कारण एमालेमा विभाजन आएको भन्दै उनीहरुविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा छन् । केन्द्रीय कमिटी बैठक बाटै नै एमालेले सभामुखविरुद्ध कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

आफूले कारवाही गरेको १४ जना संसद्लाई सभामुख सापकोटाले सनाखत नगरेको र तिनै सांसद्लाई आधार बनाएर निर्वाचन आयोगले माधव नेपालको पार्टी दर्ता गरेको आरोप एालेले लगाएको छ । यो निर्णयविरुद्ध उस्ले सर्वोच्चको ढोका ढकढक्याउने भएको छ । आफ्नो पक्षमा निर्णय भएमा एकीकृत समाजवादी पार्टीका सांसद्हरुको पद गुम्ने कुटिल मनासायका साथ एमालेले आयोग र सभामुखविरुद्ध सर्वोच्चमा रिट दिन खोजेको बुझ्न सकिन्छ ।

यता सत्ता गठबन्धनले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएको छ । सभामुखविरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको भन्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न एमालेलाई गठबन्धनले आग्रह गरेको छ ।

त्यसो त नेपालका संबैधानिक निकायका प्रमुखहरुमाथि निष्पक्ष हुन नसकेको आरोप लाग्दै आएको छ । विभिन्न कालखण्डमा राष्ट्रपतिदेखि सभामुखसम्मको भूमिका दलविशेष ढल्कने गरेको पाइन्छ । राजनीतिक दलहरु पनि आफ्नो पार्टी निकट नेता हुँदा र विपक्षी दलका नेता नेतृत्वमा हुँदा फरक व्यवहार गर्ने भएकोले नेपालमा पछिल्लो समय राष्ट्रपतिदेखि सभामुखसम्मलाई विवादमा तान्ने काम भैरहेको छ ।