राजनीति

म सभापति भएमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु : विमलेन्द्र निधी


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो ।

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो । कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको उहाँले बताउनुभयो ।