काठमाडौँ – न्यून चापीय रेखाका कारण सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । आज रातिदेखि नै केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।
मनसुनको समय अझै बाँकी नै रहे पनि शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना भने कायमै रहनेछ ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।


प्रतिक्रिया