खेलकुद

च्याम्पियन्स लिगको ड्र सार्वजनिक : बायर्न, बार्सा एकै समूहमा


काठमाडौँ – यूईएफए च्याम्पियन्स लिगको ड्र गएराति सार्वजनिक भएको छ । जसअनुसार ड्रमा ३२ टिमलाई आठ समूहमा बिभाजित गरिएको छ ।

यसपटकको ड्रमा ग्रुप ‘ए’ र ‘बी’ तुलनात्मक रुपमा कठिन देखिएका छन्। समूह ए मा रहेको साविक उपविजेता इङ्ग्लिस क्लब म्यानचेस्ट सिटीले स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा नै च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्डरडग्सका रुपमा छाएको जर्मन टिम आरबी लाइपजिग र बेल्जियन प्रो लिगको क्लब ब्रुग्गे पनि छन्।

त्यस्तै ला लिगा च्याम्पियन एट्लेटिको मड्रिड र युरोपको पावरहाउस लिभरपुल समूह बी मा पर्दा इटालियनका सात पटकको युरोपियन च्याम्पियन एसी मिलान र पोर्चुगलको जाइन्ट पोर्टो पनि सोही समूहमा छन्।

समूह ‘सी’मा पोर्चुगलको स्पोर्टिङ क्लब, जर्मनीको डर्टमन्ड, नेदरल्यान्ड्सको आयाक्स र टर्किस क्लब बेसिक्टास रहेका छन्। च्याम्पियन्स लिगको समूह डीमा इटालियन सिरी ‘ए’को च्याम्पियन इन्टर मिलान र च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल मड्रिड आमनेसामने हुनेभएका छन्। सो समूहमा युक्रेनको सख्तर डोनेस्क र मोल्डोभियन लिगको सेरिफ तिरास्पोल पनि रहेका छन्।

यस्तै, समूह ‘ई’मा जर्मनीको च्याम्पियन बायर्न म्युनिख र स्पेनिस जाइन्ट बार्सिलोनासँगै पोर्चुगलको बेन्फिका र युक्रेनको डाइनामो किभ रहेका छन्। समूह ‘एफ’मा युरोपा लिग च्याम्पियन भिल्लारियलसँगै युरोपाको उपविजेता म्यानचेस्टर युनाइटेड, इटालीको एट्लान्टा र स्विस लिगको योङ ब्वाइज परेका छन्।

यसैगरी, समूह ‘जी’मा फ्रेन्च लिगको लिल्, ला लिगाको सेभिया, अष्ट्रियन बुन्डेसलिगाको साल्जबर्ग र जर्मनीको बुन्डेसलिगाको वुल्फ्सबर्ग परेका छन्। अन्तिम समूह ‘एच’मा डिफेन्डिङ च्याम्पियन चेल्सी र इटालीको सर्वाधिक सफल क्लब युभेन्टर पर्दा रुसको जेनिट र स्विडेनको सर्वाधिक सफल क्लब माल्मो रहेका छन्।

सो ड्रमा ३२ टिमलाई आठ समूहमा बिभाजित गरिएको छ । समूहमा रहेका चार टिमले एक अर्काविरुद्ध होम र अवेका आधारमा एक एक खेल खेल्ने छन् । भने हरेक समूहका शीर्ष दुई टिम अन्तिम १६ का लागि छनोट हुने छन् । यस सिजनको समूह चरणका खेलहरु सेप्टेम्बर १४ देखि शुरु हुदै छन् ।