राजनीति

माधव नेपालको जम्बो टोली सरकारमा, रामकुमारी झाँक्रीसहित ६ जना मन्त्री बन्दै


काठमाडौँ – एमालेबाट विभाजित बनेको माधवकुमार नेपाल पक्षको दलले मान्यता पाए लगत्तै मन्त्रीमण्डललाई पूर्णता दिने बताउँदै आएको गठबन्धनले कुनै सुरसार देखाएको छैन ।दलहरुभित्रको अन्तरिक तयारी मिलाउन बाँकी नै रहेकोले अझै केहीदिन मन्त्रिपरिषद् विस्तार नहुने भएको छ ।

सत्ताधारी गठबन्धनले यसअघि माधवकुमार नेपालकै कारण मन्त्रिपरिषद्विस्तारमा ढीलाई भएको बताईरहँदा आफुलाई नपर्खिन र आफ्ना कारण नरोकिएको दाबी गर्दै आएका नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अब आफ्नो दलले मान्यता पाएपछि सरकारमा सामेलमा हुने भएका छन् । एमालेबाट विभाजित भएर नेकपा (एकिकृत समाजवादी) पार्टीको अध्यक्ष बनेका नेपाल संसद्को चौथो ठुलो दलको हैसियतसहित सरकारमा सहभागी हुने भएका हुन् । विहिबारमात्रै अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा जाने सार्वजनिक गरेका छन् ।

अध्यक्ष नेपालको पार्टीले सरकारमा माओवादी केन्द्रकै हैसियतमा स्थान पाउने भएको छ ।र यसका लागि यो पार्टीले मन्त्रालय र मन्त्रीको नामवाली प्रधानमन्त्री देउवालाई पठाउने तयारी गरेको छ । जसअनुसार विरोध खतिवडा, रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ, मेटमणि चौधरी र किसान श्रेष्ठसहित राज्यमन्त्रीमा माया ज्ञवाली सहभागी हँुदैछन् ।

ज्ञवाली जीवराज आश्रीतकी पत्नी हुन् ।उपप्रधानसहित सरकारमा जाने बाग्रेनिङ गरिरहेको यो पार्टीको मागमा गठबन्धन तयार भए उपप्रधानसहित मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् । न्यौपाने सरकारमा भित्रिदा मेटमणि चौधरी बाहिरीने सम्भावना छ ।तर माधव नेपालको दलले मान्यता पाइसक्दा समेत गठबन्धन भित्रका दल र प्रधानमन्त्री देउवाले हालसम्म मन्त्रीमण्डल विस्तारबारे तदारुकता देखाएका छैनन् ।यसले अझै केही दिन मन्त्रीमण्डल विस्तारमा गठबन्धन अल्झिने देखिएको छ ।

मन्त्रीमण्डल विस्तारका लागि गठबन्धनभित्रका दलहरुबीच भागबण्डा र संख्या अझै टुङगीएको छैन ।तथापी काँग्रेसबाट प्रधानमन्त्रीसहित ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने मोटामोटी सहमति देखिन्छ । तर मन्त्रालय बाँडफाँडलाई लिएर प्रधानमन्त्री देउवा नेतृत्वको काँग्रेसभित्रै समस्या देखिन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले उपप्रधानसहित आफ्नो पक्ष सरकारमा जानुपर्ने दाबी गरेपछि देउवा दबाबमा छन् । यता गठबन्धनमै आवद्ध जसपाका अध्यक्ष उपेन्द्र यादवले भदौ १४ सम्म मन्त्रीमण्डल विस्तार रोकिदिन आग्रह गरेका छन् । जसले अबको केही समयमैगठबन्धनले मन्त्रीमण्डललाई पूर्णता दिन सम्भावना न्यून देखिएको छ । भिडियोसहित–