राजनीति

कांग्रेस उपसभापति निधि र बीजेपी नेताबीच भेटवार्ता


काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले राजनीतिक भेटघाटकै क्रममा बुधबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार रामजी दाहालले जानकारी दिए ।

भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमति अनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उनीमार्फत भारत सरकारको ध्यानाकर्षण गराएका थिए । साथै,उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा घोषणा भएको विकास अनुदान अहिलेसम्म कार्यान्वयन नभएकामा समेत ध्यानाकर्षण गराएका थिए ।

जनकपुर–कुर्ता रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भन्दै उपसभापति निधिले दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गराउनुपर्नेमा जोड दिएका थिए । विदेश विभाग प्रमुख चौथाइवालेले उपसभापति निधिले उठाएका विषयलाई आफूले सकारात्मकरुपमा लिएको बताएका थिए ।

आइतबार काठमाडौँ आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरिसकेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग समसामयिक कुराकानी गरेका थिए भने ओलीसँग सोमबार बिहान बालकोट पुगरे ओलीसँग भेट गरेका थिए ।

नेपालमा सरकार परिवर्तनको केही समयपछि चौथाइवालेले राजनीतिक भेटघाट तीव्र पारेको र यसलाई भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भाजपा विदेश विभाग प्रमुख चौथाइवाले कांग्रेसको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।