राजनीति

संविधानमाथि राजनीति नगर्न दलका नेताहरुलाई पूर्व प्रधानन्यायाधीशहरुको चेतावनी


काठमाडौँ – नेपालमा संविधानको गलत व्याख्या गरेर वेला—वेला असंवैधानीक कदम चालिने गरिएको छ । त्यसमा पनि जसले संविधान बनाए तिनै राजनीतिक दलले कानुन मिचेको चर्चा हुने गरेको छ । यसै सन्दर्भमा पूर्वप्रधान न्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न दलका नेताहरुलाई सचेत गराएका छन् ।

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् । पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई आग्रह गरे । उनले संविधानलाई कसैले पनि गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाए ।

त्यस्तै, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालोको नमूना जस्तो भएको आरोप लगाइन । उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै चर्को विरोध गरिन । अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहंकार र आफ्नो दलको नेताहरुलाई समेत मिलाउन नसकेर दलमा कोलाहल पैदा भईरहेको उनको विश्लेषण छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दावी गरिन । उनले सांसदहरुले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको दावी गरिन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले भने अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताए । उनले संविधानको धारा ७६ बनाउँदा कुन हिसावले संविधान लेखिएको थियो त्यसको स्पष्टता आवश्यक रहेको जवाफ फर्काकाएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री वर्षमान पुन, मोहम्मद ईस्तियाक राई, सांसद् राधेश्याम अधिकारी, नवराज सिलवाल, धर्मशिला चापागाईं, रमेश पौडेल, विपिन अधिकारी, इन्दु तुलाधर, लक्ष्मी परियार, बहादुर सिंह लामा, धर्मराज ज्ञवाली र प्रकाश पन्त लगायतले लोकतन्त्रको स्थिती कमजोर रहेको र राजनीतिक दलका संस्थागत निर्णयभन्दा व्यक्तिगत स्वार्थपूर्तिका लागि संविधानको आफ्नै तरिकाले व्याख्या भैरहेको गुनासो गरेका थिए ।