राजनीति

सभामुख नै एमाले विभाजनमा सामेल भएको ओलीको आरोप (भिडियोसहित)


काठमाडौँ – माधव नेपाल समूह नयाँ पार्टी दर्ताको अन्तिम प्रक्रियामा जुट्दै गर्दा एमाले अध्यक्ष केपी ओली भने पार्टीका नेता कार्यकर्तालाई रिसोर्टमा थुन्ने काम भएको भन्दै आक्रोश पोखिरहेका थिए ।

नेपाल समूहप्रति आक्रोशित देखिएका उनले एमाले फुटाउन अध्यादेश ल्याइएको देखि सभामुखको भूमिका निष्पक्ष हुन नसकेकोसम्म आरोप लगाउन भ्याए । साथै ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने भन्दै माधव समूह छोडेका नेताहरुलाई विश्वस्थ बनाउने प्रयास गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक भएको जिकिर गरे ।

बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूले अध्यादेश ल्याउँदा कुनै पार्टी विशेषलाई फुटाउन नल्याएको तर अहिले एमाले फुटाउनकै लागि अध्यादेश ल्याइएको दाबी गरे । एमालेमा सामान्य विवाद भएपनि पार्टी फुटाउने तहको विवाद नभएको र अध्यादेश ल्याउनेहरुको उक्साहटमा पार्टी फुटाउने काम भएको उनको भनाइ थियो ।

ओलीले माधव नेपाल पक्षले घरघरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप पनि लगाए । बैठकका नाममा नेताहरुलाई घेराबन्दीमा राखिएको समेत उनले बताए ।

ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा पनि गरे । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहाल्ने अवस्था नरहेको ओलीको भनाइ थियो । ओली पक्षका नेताहरुले एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुनुपर्ने आवाज उठाइरहेको बेला जिम्मेबारी हस्तान्तरणको विषय उठाएर ओलीले माधव पक्षबाट आएका नेताहरुलाई आफू सुध्रिएको छनक दिन खोजेका थिए ।