राजनीति

एमाले विभाजनको अर्थ प्रचण्डसंग एकता, चार महिनाभित्रै प्रचण्ड–माधव एउटै पार्टीमा


काठमाडौँ – नेकपा एमालेबाट अलिग्गएर नेकपा एकिकृत समाजवादी पार्टी निर्माण गरेको माधवकुमार नेपाल पक्षको पहिलो प्राथमिकता माओवादी केन्द्रसंग एकता गर्ने बनेको छ । दल दर्ताको मान्यताका लागि सनाखत गर्न पुगेका नेताहरुले चार महिनाभित्र एकता गर्ने दाबी गरेका छन् ।

तत्कालिन नेकपा विभाजनपछि प्रचण्ड–माधवको मोर्चा बनाएर क्रियाशिल बनेका माधवकुमार नेपालले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकको कम्युनिष्ट एकता गर्न चाहेका थिए । उस्तै चाहना नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीमा पनि देखियो, माधव नेपाल बिनाको एमाले बनाउने ।

गतबर्षको फागुन २३ मा नेकपा विभाजन भएर एमालेको अध्यक्षमा फर्किएका ओलीले त्यसयता माधव नेपाललाई निरन्तर निषेध र कारबाहीको राजनीति गर्दै आएका थिए । मुलतः ओलीको उद्देश्य माधव नेपाललाई पन्छाएर एमाले अगाडी बढाउनु थियो । जुन बुधबारबाट विधिवत् रुपमा पुरा भएको छ ।माधव नेपालले ५५ केन्द्रीय कमिटी सदस्य र ३० सांसदको साथमा नेकपा एकिकृत समाजवादी नामको पार्टी दर्ता गरेका छन् । जसलाई बुधबारमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । अब नेकपा एकिकृत समाजवादी पार्टीको पहिलो प्राथमिकता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसंग एकता गर्ने हुनेछ । र यसका लागि नेताहरुले चार महिनाभित्रै प्रचण्डलगायतका कम्युनिष्टसंग एकता गर्ने ठोकुवा गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यसअघि कम्युनिष्ट एकताको कुरालाई जोडतोडले उठाउँदै आएका छन् ।एमाले विभाजनमा पुगेर माधव नेपालले फरक पार्टी बनाएपछि त त्यसलाई झनै दरिलोसंग कसेका प्रचण्डले पहिलो पार्टी बनाउने ठोकुवा गरेका छन् । प्रचण्डको चाहना माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टी र अन्य कम्युनिष्ट घटकबीच एकता गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने देखिन्छ । यसका लागि उनले आइतबारको स्थायी कमिटी बैठकबाटै निर्णय गराएर कम्युनिष्ट एकताको पहल र प्रक्रिया अघि बढाउने घोषणा पनि गरेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भंग हुनु नै नेपालीकम्युनिस्ट आन्दोलनमा ठूलो क्षति भएको निष्कर्ष यी दुबै पार्टीका नेताहरुले निकालिरहेका छन् । जसलाई माधव नेपालको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी)ले समेत आफ्नो दस्ताबेजमा उल्लेख गरेको छ । विश्लेषकहरु पनि माधवको चाहना र प्रचण्डकै बलबुतामा जारी गरिएको दल विभाजन सम्बन्धी अध्यादेशर त्यसकै प्रतिफल स्वरुप एमाले विभाजन हुनुको अर्थ माधव–प्रचण्डको एकता हुने रोडम्यापका रुपमा बुझेका छन् ।
आगामी चुनावसम्म तालमेल र त्यसपछि पार्टी नै एकता गरेर अघि बढ्ने प्रचण्ड–माधवको तयारी देखिन्छ ।यसका एमाले अध्यक्ष ओलीबाहेकका लागि अन्य कम्युनिष्ट घटकबीचको तालमेल र एकतालाई उनीहरुले प्राथमिकता दिइरहेका छन् । तर प्रचण्ड–माधवको रोडम्यापमा हालसम्म अन्य बाम घटकहरुको आकर्षण नभएकाले यी दुईबाहेकको एकतालाई अहिले नै सम्भावनाका रुपमा देख्न भने सकिदैन ।