राजनीति

काँग्रेसको इतिहासमा अहिले ठूलो विश्वासको संकट आएको देखिएको छ : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको इतिहासमा अहिले ठूलो विश्वासको संकट आएको बताउनुभएको छ । यसले पार्टीलाई बलियो नबनाउने बताउँदै नेता पौडेलले पारदर्शी ढंगले क्रियाशील सदस्यता वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बुधबार पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग गर्दै जिल्ला सभापतिहरूले सुरु गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पाखा लगाएर क्रियाशील सदस्यता बाँडिएको भन्दै यसले दुःख लागेको बताउनुभयो । उहाँले जिल्ला सभापतिहरूको निर्वाचन विधान अनुसार हुनुपर्नेमा समेत जोड दिनुभयो । पौडेलले संवैधानिक संकट टार्न पनि १८ गते चुनाव हुनै पर्नेमा जोड दिनुभयो ।

बुधबारदेखि काँग्रेस केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग राख्दै जिल्ला काँग्रेस सभापतिहरूले रिले अनसन सुरु गरेका छन् । रिले अनसनमा नुवाकोट जिल्लाका सभापति जगदीश्वर नरसिंह केसी,धादिङ जिल्ला सभापति रमेश धमला, काभ्रे जिल्ला सभापति मधु आचार्य, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रन्जित कर्ण, नेविसंघका पूर्व अध्यक्ष डिल्लीराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।