राजनीति

पार्टी कार्यलयमा कांग्रेस जिल्ला सभापतिहरुको धर्ना, तोकिएकै समयमा होला त महाधिवेशन ? (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गते देखि १३ गतेसम्म हुँदैछ । महाधिवेशन मिति नजिकिएसँगै नेताहरु विभिन्न पदको लागि तयारी सुरु गरेका छन् ।

त्यसैगरी वडा अधिवेशन आउन दश दिनमात्र बाँकी रहँदा पार्टीमा महाधिवेशनको सरगर्मी बढेको छ । यता क्रियाशिल सदस्यता विवाद समितिले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएपनि पौडेल पक्षका जिल्ला सभापतिहरुले मंगलबारबाट पार्टी कार्यलयमा धर्ना सुरु गरेका छन ।

नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो । पार्टीको विधान अनुसार सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०७६ फागुन १९ मा सकिनुपर्ने हो । तर समयमै महाधिवेशन गर्न नसक्दा विधानले दिएको थप समयको सकिने दिनबाट वडा अधिवेशन गरेर मंसिर १३ गतेसम्मलाई महाधिवेशन तन्काइने भएको छ ।

सभापति शेरबहादुर देउवा, रामचन्द पौडेल र कृष्णप्रसाद सिटौलाबीचको आन्तरिक किचलो पनि कांग्रेस महाधिवेशन ढिलाई हुनुको प्रमुख कारण मानिन्छ । लामो रस्साकस्सीपछि पार्टीको क्रियाशील सदस्यता विवाद टुुङ्गिएपछि महाधिवेशन हुने आशा जगेको थियो । तर पौडेल पक्षले क्रियाशिल सदस्यहरुको विवरण तत्काल सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टी कार्यलयमा धर्ना दिन थालेपछि यसपटक पनि तोकिएको समयमा महाधिवेशन हुनेमा अन्यौलता बढेको छ । कैलाली, रौतहट र बारा जिल्लाका नेता कार्यकर्ता हप्तौदेखि धर्नामै छन् ।

पार्टी नेतृत्वले क्रियाशिल सदस्यता वितरणमा मनमानी गरेका कारण पनि धर्ना कार्यक्रम गर्न बाध्य भएको उनीहरुको बनाई छ । केन्द्रिय नेताहरुले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन ढिलाई गर्न नहुने भन्दै अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले महाधिवेशन समयमै हुने गरी तयारी गर्न समेत पार्टी नेतृत्वलाई दवाव दिईरहेका छन । कोरोना महामारीकै बीच सरकार सञ्चालन र पार्टी महाधिवेशन सम्पन्न गर्न काँग्रेसलाई बडो सकसपूर्ण बनेको छ ।