देश

यो वर्ष पनि हास्य कलाकारहरुले खुल्ला ठाउँमा गाईजात्रा मनाउन पाएनन्, यसरी दिए आफ्नो प्रस्तुति (भिडियोसहित)


काठमाडौँ – गाईजात्रा अर्थात् हास्यव्यंग्य क्षेत्रमा लागेका कलाकारहरुका लागि महत्वपूर्ण दिन । तर कोरोनाको कहरबीच यो वर्ष पनि हास्य कलाकारहरुले खुल्ला ठाउँमा यो पर्व मनाउन पाएनन् । तर, पनि उनीहरुले काठमाडौंमा आयोजित एक कार्यक्रम आफ्नो प्रस्तुति दिएका छन् । अघिल्ला वर्षहरूमा गाईजात्राको १५ दिनअघिदेखि हास्यकलाकारहरू व्यस्त हुन्थे ।

स्वदेशमा मात्र नभई विदेशमा समेत कार्यक्रम गर्न जानेको लर्को लाग्थ्यो । गाईजात्राको एक साताअघिदेखि कार्यक्रम सञ्चालन हुन्थे । कलाकारहरू राजनीतिक र सामाजिक विषयवस्तुमाथि कडा प्रस्तुति दिन्थे । तर यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण सार्वजनिक कार्यक्रम गर्न नपाइने भएपछि हास्य कलाकारले एक कार्यक्रममा आफ्नो प्रस्तुती दिएर मनोरञ्जन दिएका छन् ।

पञ्चायतकालमा अहिलेजस्तो सत्तामा रहेकाहरूको आलोचना गर्न पाइँदैनथ्यो । त्यसैले सरकारको आलोचना गर्न कलाकारहरू गाईजात्रा रोज्थे । एक दिन सरकारका कामकारबाहीप्रति व्यंग्य गर्न त पाइन्थ्यो तर सेन्सर गराएर मात्र । अहिले प्रजातन्त्रले जतिसुकै वेला जोसुकैको आलोचना गर्ने छुट दिएको छ । तै पनि हास्य कलाकारका लागि गाईजात्रा महत्त्वपूर्ण पर्व हो । परम्परागत रूपमा पनि भाद्र शुक्ल प्रतिपदादेखि कृष्णाष्टमीका दिनसम्म शहरका चोक र डबलीमा गाइर्जात्रा देखाइने चलन थियो । सो प्रचलनलाई पछिल्लो पुस्ताका कलाकर्मीहरुले पनि निरन्तरता दिइरहेका छन् ।

कोरोना कहरका बीच कलाकारहरूले विगतजस्तो नभएनी विभिन्न मध्यमबाट गाईजात्रा मनाइरहेका छन् । नेपालमा अरुवेला राजनीतिक दलका नेताले गाईजात्रा देखाइरहने हुँदा वास्तविक गाईजात्रा ओझेलमा पर्ने गरेको विश्लेषण हुने गरेको छ ।