राजनीति

कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै टुंगिएन, करिब ४५ जिल्लाका क्रियाशील सदस्यताको सूची पठाउने तयारी


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन् । भदौ २ गतेभित्र विवाद सल्ट्याएर भदौ ३ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तय गरिएपनि अझै विवाद मिलेको छैन ।

संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले सदस्यता विवाद नै टुंग्याउन सकेको छैन । सदस्यता विवाद मिलाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू मीनेन्द्र रिजाल र रमेश लेखकले प्रयास गरिरहनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समय यही भदौ १९ गतेबाट सकिँदै छ ।

क्रियाशील सदस्यता वडा, गाउँ र नगर अधिवेशनका मतदाता हुन्छन् । तीनै सदस्यताबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि क्षेत्र र जिल्लाका मतदाता हुन्छन । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुन्ने कांग्रेसको विधान छ ।