काठमाडौँ – यो साता देशका पहाडी भागका अधिकांश जिल्लाहरुमा बाढी–पहिरो जानसक्ने मौसमविद्ले बताएका छन् । नेपालमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मनसुन थप सक्रिय हुँदै गएकोले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका हुन् ।
विगतका वर्षहरुको तुलनामा यस वर्ष यो अवधिमा पर्ने पानीको औसतभन्दा धेरै पानी परेको र यसले धेरै स्थानको जमीन गलाईसकेको हुनाले जोखिम झन् बढेको छ । त्यसैले निरन्तरको पानीले यो हप्ताभरी नै बाढी पहिरोको जोखिम उच्च छ ।
गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको छ । मौसमविद्का अनुसार अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने पनि बेलुकादेखि फेरि पानी पर्ने सम्भावना रहेछ ।
भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


प्रतिक्रिया