राजनीति

एमाले र सभामुखको लडाईको बाछिटा प्रदेशसम्म, पद छोड्न ओलीको धम्की


काठमाडौँ – आफुले गरेका कारबाहीले मान्यता नपाउने देखिएपछि नेकपा एमालेले केन्द्रदेखि प्रदेशका सभामुखको राजीनामा माग गरिरहेको छ । पार्टीहित विपरितका कार्य गरेका सांसदहरुलाई कारबाही गरेर सभामुख समक्ष पठाएपनि राजनीतिक प्रतिशोधका आधारमा कारबाही रोकिएको भन्दै एमालेले राजीनामा माग्न थालेको हो ।

नेकपा एमालेले माधव पक्षका १४ सांसदको पद खारेज गर्न माग गर्दै भदौ १ गते संसद सचिवालयमा पु¥याएको पत्र अनुसार सभामुख अग्नीप्रसाद सापकोटाले कारबाही गर्न विलम्ब गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहिबार घुमाउरो पारामा राजीनामा माग गरेका थिए । उनले सभामुखको मनमौजी ढंगले संसद् नचल्ने भन्दै सभामुखको कुर्सीमा बसेर संसद् चलाउन नसक्ने भए छोडी दिन चेतावनी दिएका थिए ।

एमाले फुटाउनका लागि सत्ताधारी गठबन्धनले ल्याएको अध्यादेश अनुसार पार्टीभित्रको माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गरेपछि ओलीले १४ सांसदलाई कारबाही गरेका थिए । तर हालसम्म सभामुखले त्यसबारे निर्णय नगरेपछि ओलीले राजीनामा माग गरेका हुन् । उसो त सभामुखको केन्द्रमा मात्रै होइन, एमालेले प्रदेशमा समेत राजीनामा माग गरिरहेको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमलाकुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले कारबाही गरेको भन्दै पद खारेज गर्न प्रदेशसभामा प्रक्रिया अघि बढाएको थियो । तर कारबाही गर्न माग गरिएका सांसदलाई सभामुख पूर्णबहादुर घर्तीले जोगाएपछिएमाले सांसदहरुले आइतबार राजीनामा माग गर्ने नभए संसद् चल्नै नदिने चेतावनी दिएका छन् ।

तत्कालिन नेकपा रहँदा प्रदेशसभा सदस्यमा निर्वाचित बनेकी विमला वली खत्रीले नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कहिले एमाले र कहिले माओवादी गर्दै आएकी थिईन । तर आधिकारिक रुपमा उनी एमालेकै सांसद भएको प्रमाण प्रदेशसभा सचिवालयमा भेटिएको थियो ।

सरकार फेरबदलमा निर्णायक बनेकी वलीनै शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने कारण बनेपछि एमालेले उनीसहितका थप एक सांसदलाई पद खारेजको माग गरेको हो । तर माओवादीको तर्फबाट सभामुख बनेको घर्तीले मान्यता नदिएपछि उनीहरु आक्रोशित बनेका हुन् ।तर एमालेकै चुनाव चिन्ह लिएर निर्वाचित भएका र हाल माओवादी केन्द्र सघाएर मन्त्रीसम्म भएर कारबाही माग गरिएका सांसदहरुले आफु स्वतन्त्र भएको भन्दै कारबाही नहुने दाबी गरेका छन ।

केन्द्रको सत्ता फेरबदलले प्रदेश सरकारहरुमा समेत प्रभाव परिरहेको छन् । सत्ताधारी गठबन्धनले कब्जा गर्ने नीति लिएपछि एमालेले नेतृत्व गरेका दुई प्रदेश सरकार ढलेका छन् भने बाँकी रहेको दुई पनि जोखिममा छन् ।

मुलतः ओली सत्तामा रहँदा विरोधीहरुले उनी पक्षीयलाई पाएसम्मकोकमजोर बनाउने जुन नीति लिएको थियो अहिले ठिक उसै गरी ओली पक्षका सांसदहरु सत्ता पक्षलाई धक्का दिने गरी गतिविधि गरिरहेका छन् ।