राजनीति

माधवलाई छाडेका नेताहरुको स्वार्थले एमाले फेरि खाँडलमा, अर्काे पार्टी बनाउँलान् ?

दल विभाजन सम्बन्धी जारी भएको अध्यादेशको विरोध र १० बुँदे सहमति कार्यान्वयनको मुद्धालाई तेस्रो धारले प्राथामिकता दिएको छ ।


काठमाडौँ – करिब ६ महिना लामो एकता र विभाजनको लडाईपछि एमाले अन्ततः विभाजित बनेको छ । माधवकुमार नेपालले फरक पार्टी बनाएका छन् भने केपी शर्मा ओली संस्थापनमै कायम छन् । तर यसअघि नेपाललाई साथ दिदैं आएका नेताहरुले तेस्रो धार जन्माएपछि उहीँ लडाई दोहोरिदै छ ।

१५ वर्ष महासचिव भएर आफैले फलाई फुलाई बनाएको पार्टीबाट बहिर्गमित हुँदै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकिकृत समाजवादी नामको पार्टी दर्ता गराएका छन् । तर यसअघि उनलाई सघाउँदै आएका दोस्रो तहका नेताहरुले निर्णायक मोडमा साथ छोडेर पार्टीभित्रै संघर्ष गर्ने बताएपछि एमालेमा तेस्रोधार जन्मिएको छ । र यो धारको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भूषालले गरिरहेका छन् । उनीहरुको साथमा सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य छन् भने दुई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित ५७ जनाको समुह तेस्रोधारमा छ ।अध्यक्ष केपी शर्मा ओली र एकताका सबै ढोका बन्द भएको भन्दै नयाँ पार्टी बनाएका माधव नेपाललाई सच्चिएर पार्टीमा फर्किन यो धारले आह्वान गरिरहेको छ । त्यसका लागि दल विभाजन सम्बन्धी जारी भएको अध्यादेशको विरोध र १० बुँदे सहमति कार्यान्वयनको मुद्धालाई तेस्रो धारले प्राथामिकता दिएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकताका सबै प्रक्रिया भंग गरेर फरक फरक दलको नेता बनिसकेका छन् । यो अवस्थामा २१ दिनभित्र नेता कार्यकर्ता वा जननिर्वाचित प्रतिनिधिले आफ्नो कित्ता क्लियर गर्दै पहिचान खुलाउनु पर्नेछ । तेस्रो धारका नेताहरुले समेत एमालेमै रहने वा माधव नेपालले गठन गरेको पार्टीमा जाने निर्णय २१ दिनभित्रै गर्नुपर्नेछ । त्यसो नभए यहीँ अवधिमा२० प्रतिशत पु¥याएर फरक पार्टी दर्ता गर्ने सुविधा पनि छ । यदि यी मध्ये कुनै विकल्पमा २१ दिनभित्र निर्णय नगरे सांसद पद नै जानसक्छ ।तर तेस्रो धारका नेताहरु नदिका दुई किनारा बनेका ओली–माधवलाई एक बनाउन अझै लागिपरिरहेका छन् ।

अध्यक्ष ओली र नेपालको द्वन्द्वमा पार्टी बन्धक बनेर टुक्रिने अवस्थासम्म पुगिसक्दा एमालेभित्र वैकल्पिक नेतृत्व चाहिन्छ भन्न नसक्ने दोस्रो तहका नेताकै कारण एमाले विभाजन भएको विश्लेषणसमेत भइरहेका छन् । पार्टीभन्दा नेतालाई ठुलो बनाएर चाकरी गरिरहेका यी नेताहरुले अहिले कुन स्वार्थ र राजनीतिक अभिष्ट पुरा गर्न माधवको साथ छोडे र तेस्रो धार जन्माए आम चासोको विषय बनेको छ । तथापी अष्टलक्ष्मी शाक्यलाई ओलीले बागमति प्रदेशको मुख्यमन्त्री बनाएपछि यी नेता पदमा विक्न थालेको आशंक गर्न थालिएको छ ।प्रदेश एकमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारीले पनि उक्त आशंकालाई मलजल गरेको छ । तर १० बुँदे कार्यान्वयनमा लचक भएपनि फरक पार्टी बनाएर गएका व्यक्ति एकतामा ल्याउन खोज्ने विषयले सहमति नहुने ओली पक्षका नेताहरु बताउँछन् ।

१० बुँदे सहमति अक्षरशः कार्यान्वयन भए संस्थापनमा रहने तेस्रो धारका नेताहरुको निर्णयले अध्यक्ष ओलीललाई भने राहत मिल्ने देखिन्छ । तर विगतमा एमालेभित्र विकल्प खोज्नुपर्ने भन्दै वकालत गरिरहेका सहयात्रीले कठिन घडिमा लत्तो बजारेपछि माधव नेपाललाई झट्का लागेको छ ।