देश

तराईको मिथिला क्षेत्रमा रक्षाबन्धनको रौनक, राखिले सजिए फेन्सीपसल

पछिल्लो समय तराईका हिन्दू धर्मावलम्बीले मात्र नभइ इस्लाम धर्मावलम्बी युवाहरुले हिन्दू महिलालाई दिदीबहिनी बनाएर राखी बाँध्ने चलन बढ्न थालेको छ ।


काठमाडौँ – तराईको मिथिला क्षेत्रमा अहिले राखी अर्थात् रक्षाबन्धन पर्वको रौनक बढेको छ । दिदीबहिनी र दाजुभाइ बिच गाढा प्रेम दर्शाउने यसपर्वको रौनक शुक्लपक्ष प्रारम्भ भएसँगै शुरु हुन्छ । यतिबेला तराईका बजार कलात्मक रुपले सिंगारिएका छन् भने फेन्सी पसलहरु राखीहरुले सजिएका छन् ।

तराईको मिथिला क्षेत्रमा अहिले राखी पर्वको रौनक छाएसँगै चहलपहल बढेको छ । राखीको बिक्री गर्ने पसल, ठूलठूला व्यापारिक प्रतिष्ठान गाउँ, टोल तथा घरघरमा रक्षाबन्धनको गीत बजेको सुनिन्छ । जहाँ बालबालिका, किशोरी, विवाहित महिला दौंतरीहरु एकापसमा भेट हुनासाथ रक्षाबन्धनकै तयारीको बारेमा कुराकानी गर्ने गरेका छन् । कतिपय किशोरी तथा महिलाहरु टाढा रहेका आफ्ना दाजुभाइहरुलाई एकहप्ता अगाडिदेखि नै राखी किनेर पठाइ सकेका छन् भने कतिपयले किनेर पठाउने तयारी गरिरहेका छन् ।

यो पर्वमा आफ्ना दाजुभाइलाई राखी बाँध्नका लागि निम्तो दिने परम्परा रहेको छ । कतिपय दिदीबहिनीहरु गत वर्षको जस्तै यसपालि पनि कोरोना महामारीका कारण सँगै भेला हुन् नपाउँने भन्दै सामाजिक संञ्जालबाटै शुभकामना र आशिष दिएर चित्त बुझाएउँने तयारीमा रहेका छन् । गत वर्ष लकडाउनले गर्दा राखीको बिक्री कम मात्रामा भएको भएपनि यसपालि बिक्री बढेको ब्यापारीहरुले बताएका छन् । तर बजारमा पाइने राखीहरु भारतबाट ल्याउनु पर्ने भएकोले बोडर बन्दका कारण माग अनुसारको राखीहरु ल्याउन नसकेको ब्यापारीको गुनासो छ ।

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्व विशेष रहने गर्दछ । सत्ययुगमा तीनै लोकका अधिपति रहेका दानवराज बलिलाई उनका बहिनी गंगा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको कथन छ । सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाईको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पछिल्लो समय तराईका हिन्दू धर्मावलम्बीले मात्र नभइ इस्लाम धर्मावलम्बी युवाहरुले हिन्दू महिलालाई दिदीबहिनी बनाएर राखी बाँध्ने चलन बढ्न थालेको छ । यसले दुवै धर्म मान्ने समुदाय बिचको प्रेम तथा आत्मियतालाई बढाएको छ ।